काठमाडौं । नेपालमा पछिल्लो समय खाना पकाउने एलपी ग्यासको माग उल्लेख्य रूपमा बढेको छ। नेपाल आयल निगमका अनुसार साउन महिनामा मात्रै ५७ हजार ३ सय १६ टन ग्यास आयात तथा बिक्री भएको छ, जुन करिब ४० लाख ३६ हजार ३ सय ६४ सिलिन्डर बराबर हो।
असार महिनामा ३१ लाख ३६ हजार ९ सय ३७ सिलिन्डर बराबर ग्यास बिक्री भएकोमा साउनमा करिब ९ लाख सिलिन्डरले बिक्री बढेको निगमले जनाएको छ।
निगमका अनुसार चैतमा २७ लाख ३२ हजार ३ सय ५५ सिलिन्डर बराबर ग्यास आयात तथा बिक्री भएको थियो। त्यसपछि वैशाखमा २२ लाख ५७ हजार ४ सय ९६ र जेठमा २३ लाख १२ हजार ८ सय ३७ सिलिन्डरमा सीमित भएको ग्यासको माग साउनमा भने ह्वात्तै बढेको हो।
ग्यासको माग आगामी दिनमा अझै बढ्न सक्ने भन्दै निगमले उपभोक्तालाई आवश्यकता अनुसार मात्र ग्यास खरिद गर्न आग्रह गरेको छ। निगमले अनावश्यक रूपमा ग्यास भण्डारण नगर्न समेत उपभोक्तालाई सचेत गराएको छ।






