सप्तरी, फागुन १२ – नेकपा माओवादी केन्द्रका केन्द्रीय उपमहासचिव तथा मधेस प्रदेशका इन्चार्ज मातृकाप्रसाद यादवले हुलाकी राजमार्ग जनजागरण अभियानको तयारीका लागि सप्तरीको राजविराजमा पार्टीका नेताकार्यकर्ताहरूसँग विशेष छलफल गर्नुभएको छ।
बैठकमा हुलाकी राजमार्गसँग जोडिएका क्षेत्रहरूको विकास, जनचेतना अभिवृद्धि, पार्टी संगठन सुदृढीकरण र स्थानीय जनसमस्याहरू समाधानका उपायहरूबारे विस्तृत छलफल गरिएको थियो। कार्यक्रममा मधेस प्रदेशस्तरीय नेताहरू, जिल्ला तहका पदाधिकारीहरू तथा स्थानीय कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।
उपमहासचिव यादवले जनताको लामो समयदेखिको अपेक्षा पूरा गर्न हुलाकी राजमार्गको उचित उपयोग र यसको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताउँदै यस अभियानलाई जनस्तरमा लैजानुपर्नेमा जोड दिनुभयो। बैठकमा सहभागी कार्यकर्ताहरूले समेत आफ्नो सुझाव प्रस्तुत गर्दै अभियानलाई सफल बनाउन सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएका थिए।
नेकपा माओवादी केन्द्रद्वारा सञ्चालित हुलाकी राजमार्ग जनजागरण अभियानले आगामी दिनमा स्थानीय विकास, पूर्वाधार निर्माण र जनताको प्रत्यक्ष सहभागिता बढाउन महत्वपूर्ण योगदान गर्ने अपेक्षा गरिएको छ।




