धनुष टिभी, धनुषा
साना किसान कृषि सहकारी संस्था लि., धनुषा गोविन्दपुरले २० वर्षको सफल यात्रा पूरा गरी २१औँ वर्षमा प्रवेश गरेको अवसरमा २१औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ।
नेपाल सरकारको तत्कालीन कृषि विकास बैंक लि. अन्तर्गतको साना किसान विकास आयोजना मार्फत स्थानीय स्तरमा बहुआयामिक गरिबी निवारण गर्ने उद्देश्यसहित समुदायमा हस्तान्तरण भई डिभिजन सहकारी कार्यालय, जनकपुर, धनुषाबाट दर्ता नम्बर ३००–३५ (०६१/०६२) तथा प्यान नम्बर ३०४९६६३२९ अन्तर्गत दर्ता भएको यस सहकारीले वित्तीय सेवा, बचत–ऋण, सामाजिक तथा सामुदायिक कार्यक्रमहरू सञ्चालन गर्दै स्थानीय स्रोत–साधनको अधिकतम उपयोगमार्फत गरिबी उन्मूलनमा उदाहरणीय भूमिका निर्वाह गर्दै आएको छ।
२१औँ वार्षिकोत्सव कार्यक्रम सहकारीका अध्यक्ष प्रभु नारायण साह तेलीको अध्यक्षता तथा धनुषाधाम नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष लक्ष्मी साह तेलीको प्रमुख आतिथ्यमा सम्पन्न भयो। कार्यक्रममा समाजसेवी, बुद्धिजीवी, सञ्चालक समिति, लेखा सुपरिवेक्षक समिति, शिक्षा उपसमिति, शेयरधनी तथा शेयरधनीका एकाघर–सगोल परिवारका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा शैक्षिक योग्यतामा उत्कृष्ट अंक प्राप्त गर्ने शेयरधनी परिवारका विद्यार्थीहरूलाई नगद पुरस्कार तथा प्रशंसा पत्र प्रदान गरियो। साथै जेष्ठ नागरिक शेयरधनी सम्मान, शेयरधनी सुत्केरी भत्ता वितरण, उत्कृष्ट कृषि खेती गर्ने किसान सम्मान तथा सदस्य सुरक्षा राहत योजना अन्तर्गत मृत्यु भएका शेयरधनीका परिवारलाई राहत रकम प्रदान गरिएको थियो।
विभिन्न सम्मान तथा सहयोगात्मक कार्यक्रमहरूसहित २१औँ वार्षिकोत्सव कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको सहकारीले जनाएको छ।
साना किसान कृषि सहकारी संस्था लि. गोविन्दपुरको २१औँ वार्षिकोत्सव सम्पन्न
तपाईको प्रतिक्रिया
सम्बन्धित खबर




