धनुषाधाम । न्यू धनुष बचत तथा ऋण सहकारी संस्था लिमिटेड, धनुषाधाम नगरपालिका–३, धनुषाको छैठौं वार्षिक साधारण सभा २०८२ शनिबार सम्पन्न भएको छ। संस्थाका अध्यक्ष नागेश्वर साहको अध्यक्षतामा सम्पन्न सभामा संस्थाको वार्षिक प्रगति विवरण, आर्थिक अवस्था, लेखा प्रतिवेदन तथा आगामी आर्थिक वर्षका कार्यक्रम र बजेटमाथि विस्तृत छलफल गरिएको थियो।
सभाका प्रमुख अतिथि धनुषाधाम नगरपालिकाका नगर प्रमुख बालेश्वर मण्डल रहेका थिए। कार्यक्रममा वडा अध्यक्ष जयनारायण यादव, लक्ष्मी साह, पूर्व वडा अध्यक्ष प्रभु नारायण साह, राजकिशोर साह, सशस्त्र प्रहरी निरीक्षक गणेश बोहरा, रामबाबु यादव, धनुषाधाम उद्योग वाणिज्य संघका संयोजक तथा रेडियो धनुषका सञ्चालक मुकेश कुमार ठाकुर लगायत विभिन्न क्षेत्रका प्रतिनिधि, सहकारी अभियन्ता, पत्रकार तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो।
सभामा प्रस्तुत आर्थिक प्रतिवेदनअनुसार सहकारीले पछिल्लो आर्थिक वर्षमा उल्लेखनीय प्रगति हासिल गरेको छ। संस्थाको कुल सम्पत्ति १४ करोड रुपैयाँभन्दा बढी पुगेको छ भने बचत संकलन, ऋण लगानी, शेयर पूँजी तथा सञ्चालन नाफामा समेत वृद्धि भएको जनाइएको छ। ऋण असुली दर सन्तोषजनक रहेको प्रतिवेदनमा उल्लेख छ।
लेखा समितिको प्रतिवेदनमा सहकारी ऐन तथा नियामक निकायका मापदण्डहरूको पालना, पारदर्शी वित्तीय व्यवस्थापन, सञ्चालक तथा कर्मचारीका सेवा–सुविधा नियमअनुसार कार्यान्वयन गरिएको उल्लेख गरिएको छ।
सभाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बचत तथा ऋण सेवा विस्तार, वित्तीय साक्षरता अभियान, बीमा सेवा, बाल तथा महिला लक्षित बचत योजना तथा समुदाय केन्द्रित कार्यक्रमलाई प्राथमिकतामा राख्ने निर्णय गरेको छ।
वक्ताहरूले सहकारीले समुदायको आर्थिक सशक्तीकरणमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै सदस्यहरूलाई समयमै ऋण भुक्तानी गर्न र संस्थाको गतिविधिमा सक्रिय सहभागिता जनाउन आग्रह गरे।
सभाको अन्त्यमा वार्षिक लेखा प्रतिवेदन तथा आगामी कार्यक्रम र बजेट सर्वसम्मत रूपमा पारित गर्दै छैठौं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न भएको घोषणा गरियो।
न्यू धनुष बचत तथा ऋण सहकारीको छैठौं वार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया
सम्बन्धित खबर




