रामनारायण ठाकुर,२०८२ पुस २० गते, आइतबार
सिरहाको मिर्चैया नगरपालिकामा पछिल्लो समय सवारी साधन तथा धनमाल चोरीका घटना तीव्र रूपमा बढ्दै गएपछि स्थानीय युवाहरू, नागरिक तथा व्यवसायीहरूले इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी राजेशराज पुरीलाई ज्ञापनपत्र बुझाएका छन्।
विगत केही समयदेखि मिर्चैया नगरपालिकाका विभिन्न वडाहरू, मुख्य बजार क्षेत्र तथा घरको आँगनबाटै दिउँसो र रातिको समयमा मोटरसाइकल तथा अन्य सवारी साधन चोरीका घटना डरलाग्दो रूपमा बढ्दै गएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ। यस्ता घटनाले स्थानीय बासिन्दा तथा व्यवसायीहरूमा त्रासको वातावरण सिर्जना हुनुका साथै नागरिकको जिउधन र सम्पत्तिको सुरक्षामाथि गम्भीर प्रश्न उठेको युवाहरूको भनाइ छ।
ज्ञापनपत्रमार्फत युवाहरूले प्रहरी प्रशासनको उपस्थितिका बाबजुद पनि चोरीका घटनामा कमी नआउनु र चोरीमा संलग्न व्यक्ति तथा गिरोहहरू सहजै उम्किनुले मिर्चैयाको शान्ति–सुरक्षा अवस्था कमजोर बन्दै गएको महसुस भएको बताएका छन्।
यस समस्याको समाधानका लागि युवाहरूले मिर्चैया बजार क्षेत्र, भित्री सडक तथा शंकास्पद स्थानहरूमा दिनरात नियमित र प्रभावकारी प्रहरी गस्ती व्यवस्था गर्न माग गरेका छन्। साथै बजारका मुख्य चोकहरूमा जडान गरिएका सीसीटीभी क्यामेराहरूको नियमित मर्मत, सञ्चालन तथा निगरानीलाई चुस्त बनाइनुपर्ने माग पनि अघि सारिएको छ।
त्यसैगरी नगरपालिकाभित्र प्रवेश गर्ने तथा बाहिरिने नाकाहरूमा सवारी साधनको कडा चेकजाँच व्यवस्था मिलाउन तथा चोरीमा संलग्न गिरोहहरूको तत्काल पहिचान गरी कानुनी दायरामा ल्याउन ज्ञापनपत्रमार्फत आग्रह गरिएको छ। हराइरहेका सवारी साधनको खोजतलास गरी सम्बन्धित धनीलाई बुझाउनेतर्फ ठोस पहल गर्नुपर्ने माग समेत गरिएको छ।
ज्ञापनपत्र बुझ्दै इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी राजेशराज पुरीले चोरी नियन्त्रणका लागि आवश्यक कदम चालिने र मिर्चैयाको शान्ति–सुरक्षा मजबुत बनाउन प्रहरी सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन्।
स्थानीयवासीहरूले चोरीका घटनामा शीघ्र नियन्त्रण नआए जनस्तरबाट थप दबाबमूलक कार्यक्रम गर्न बाध्य हुने चेतावनी समेत दिएका छन्।




