धनुषा, असार १० । सबैला नगरपालिकाको १५ औँ नगर अधिवेशन नगर प्रमुख कारीराम यादव को अध्यक्षतामा सम्पन्न भएको छ।
अधिवेशनमा उपप्रमुख रहिमा खातुन, प्रमुख प्रशासकीय अधिकृत खिम बहादुर भुजेल, वडा अध्यक्षहरू, कार्यपालिका सदस्य, वडा सदस्य, कर्मचारी, पत्रकार तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
नगरसभामा आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७७ करोड ७ लाख ४१ हजार ६७० रुपैयाँको बजेट प्रस्तुत गरिएको छ। प्रस्तुत बजेटमध्ये पूँजीगततर्फ ४९ करोड ३२ लाख ७४ हजार रुपैयाँ (६४ प्रतिशत) तथा चालूतर्फ २७ करोड ७४ लाख ६७ हजार रुपैयाँ (३६ प्रतिशत) खर्च हुने अनुमान गरिएको छ।
प्रमुख प्रशासकीय अधिकृत भुजेलले प्रस्तुत गरेको आयतर्फको अनुमान अनुसार संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान १३ करोड ६९ लाख, सशर्त अनुदान २४ करोड ३४ लाख, राजस्व बाँडफाँड १२ करोड ६६ लाख ६४ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। यस्तै प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान ९३ लाख ९५ हजार र राजस्व बाँडफाँडतर्फ ७० लाख रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको छ। स्थानीय राजस्व बाँडफाँडबाट १ करोड तथा आन्तरिक आय स्रोतबाट २ करोड रुपैयाँ संकलन हुने अनुमान गरिएको छ।
व्ययतर्फ सामाजिक विकास क्षेत्रमा ७ करोड ६७ लाख, आर्थिक विकासमा १ करोड ९० लाख, भौतिक पूर्वाधार विकासमा १७ करोड ३९ लाख ६४ हजार, वन, वातावरण तथा विपद् व्यवस्थापनमा १ करोड ३५ लाख, संस्थागत विकास तथा सुशासनमा १ करोड ३५ लाख, कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चमा १३ करोड ८५ लाख ६२ हजार तथा संघ, प्रदेश र अन्य निकायसँग साझेदारी कार्यक्रमका लागि २ करोड ७५ लाख रुपैयाँ विनियोजन गरिएको छ। गत वर्षझैँ वडा कार्यालयहरूका लागि ८ करोड ९३ लाख रुपैयाँ छुट्याइएको छ।
नगरसभामा वित्तीय व्यवस्थापन, भुक्तानी बाँकी, फिर्ता गर्नुपर्ने रकम तथा विभिन्न निकायसँग लागत साझेदारी गर्नुपर्ने रकम गरी २१ करोड ७३ लाख ७७ हजार ६७० रुपैयाँको व्यवस्थापन गरिने जानकारी समेत गराइएको छ।
नगर प्रमुख यादवले चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षको बजेट १५.२१ प्रतिशतले घटेको बताउँदै संघीय सरकारको समानीकरण तथा राजस्व बाँडफाँड रकममा आएको कमी र नगरपालिकाको आन्तरिक राजस्व संकलन घटेकाले बजेटको आकार घटाउनुपरेको स्पष्ट पार्नुभयो।
अधिवेशनमा आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रम पारित गर्दै कृषि, पूर्वाधार, सामाजिक विकास तथा सेवा प्रवाहलाई प्राथमिकतामा राखिएको जनाइएको छ। नगरपालिकाले वार्षिक योजना तथा कार्यक्रमको विस्तृत विवरण ‘रेड बुक’ मार्फत सार्वजनिक गर्ने जनाएको छ। अन्त्यमा नगर प्रमुख यादवले नीति तथा बजेट निर्माणमा सहयोग गर्ने जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालालाई धन्यवाद व्यक्त गर्नुभएको थियो।
७७ करोड ७ लाखको बजेटसहित सबैला नगरपालिकाको १५ औँ नगर अधिवेशन सम्पन्न
तपाईको प्रतिक्रिया
सम्बन्धित खबर






