रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

रास्वपाको जनकपुर नेतृत्वमा नयाँ अनुहार, ललन नायकको उदय

[sharethis-inline-buttons]

धनुष टिभी,जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जनकपुरधाम उपमहानगर समितिको नेतृत्व अब ललन कुमार नायकको हातमा पुगेको छ। आइतबार सम्पन्न प्रथम नगर अधिवेशनमा भएको प्रतिस्पर्धात्मक निर्वाचनबाट नायक नगर सभापतिमा निर्वाचित भएका हुन्।

सभापति पदका लागि ललन कुमार नायक र जीतेन्द्र महासेठबीच कडा प्रतिस्पर्धा भएको थियो। सहमतिबाट नेतृत्व चयन हुन नसकेपछि निर्वाचन प्रक्रियामार्फत नेतृत्व टुंगो लगाइएको हो।

कुल १७६ मत खसेको निर्वाचनमा नायकले १०५ मत प्राप्त गर्दै विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी महासेठले ७१ मत पाए। प्राप्त मत परिणामले नगरस्तरमा नायक पक्षको बलियो संगठनात्मक प्रभाव देखिएको राजनीतिक विश्लेषकहरूको भनाइ छ।

यस निर्वाचनलाई रास्वपाको जनकपुरधाममा संगठन विस्तार र आन्तरिक लोकतन्त्रको अभ्यासका रूपमा हेरिएको छ। पार्टीभित्र प्रभावशाली मानिएका तथा प्रतिनिधिसभा सदस्य मनिष झा निकट मानिने महासेठको उम्मेदवारीले प्रतिस्पर्धालाई थप रोचक बनाएको थियो।

निर्वाचन परिणाम सार्वजनिक भएसँगै नायक समर्थकहरूले सामाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट बधाई तथा शुभकामना व्यक्त गर्न थालेका छन्। नयाँ नेतृत्वले जनकपुरधाममा रास्वपाको संगठनलाई कसरी अघि बढाउँछ भन्ने विषय अब चासोको केन्द्र बनेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर