रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

शहीदनगरमा लेखापाल हेरफेरको चर्चा: मेयर यादवले दिए स्पष्टीकरण

धनुषा — धनुषाको शहीदनगर नगरपालिकाका मेयर दिनेश प्रसाद यादवले नगरपालिकाका लेखा अधिकृत (लेखापाल) लोकबहादुर नेपालीलाई हटाएर आफ्नो रोजाइको कर्मचारी ल्याउन काठमाडौं पुगेको भन्ने समाचारको खण्डन गरेका छन्।
मेयर यादवले लेखा अधिकृत लोकबहादुर नेपालीको कार्यक्षमतामाथि कुनै प्रश्न नरहेको स्पष्ट पार्दै उनी सक्षम र राम्रो कर्मचारी रहेको बताए। “लेखा अधिकृत राम्रो हुनुहुन्छ, त्यसमा दुई मत छैन,” उनले भने।
उनका अनुसार कार्यालयका केही संवेदनशील फाइल यताउता भएको विषयले प्रशासनिक समस्या उत्पन्न भएकाले कर्मचारी व्यवस्थापनबारे सम्बन्धित निकायसँग समन्वय भइरहेको हो। नगरपालिकाको कामलाई व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक पहल गरिएको उनले बताए।
यसअघि केही सञ्चारमाध्यममा मेयर यादवले लेखा अधिकृत नेपालीलाई फिर्ता गराई आफ्नो अनुकूल कर्मचारी ल्याउन काठमाडौंमा पहल गरिरहेको तथा भुक्तानी प्रक्रिया र प्रशासनिक विवादका कारण कर्मचारी हेरफेरको प्रयास भएको भन्ने समाचार प्रकाशित भएका थिए।
मेयर यादवले ती आरोप तथ्यपरक नभएको दाबी गर्दै नगरपालिकाको प्रशासनिक कामलाई प्रभावकारी बनाउने उद्देश्यले मात्र आवश्यक समन्वय गरिएको स्पष्ट पारे।
यस विषयमा प्रतिक्रिया लिन लेखा अधिकृत लोकबहादुर नेपालीसँग दुई पटक टेलिफोनमार्फत सम्पर्क गर्ने प्रयास गरिएको भए पनि सम्पर्क हुन सकेन।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर