धनुषाको शहिदनगर नगरपालिकाले खरिद गरेको जेसिबी (ब्याकहो लोडर) दुई दिनअघि आगलागी भएर जलेर ध्वस्त भएको घटनाले नगरपालिकामा चर्चा र विवाद सिर्जना गरेको छ। लामो समयदेखि बिग्रिएको अवस्थामा रहेको भनिएको जेसिबी अचानक सञ्चालनमा ल्याइएपछि आगलागी भएको भन्दै वडा नं. ६ का वडाध्यक्ष उमेश निराला तथा पूर्व मेयर उदयकुमार बरबरियाले नगर प्रमुख दिनेश प्रसाद यादवमाथि सुनियोजित रूपमा आगो लगाएको आरोप लगाएका छन्।
वडाध्यक्ष निरालाले बिग्रिएको भनिएको जेसिबी कुन प्रयोजनका लागि सञ्चालन गरिएको भन्दै प्रश्न उठाएका छन्। घटनापछि मेयर यादवको संलग्नताबारे स्थानीय स्तरमा विभिन्न आशंका समेत व्यक्त भएका छन्।
यता नगर प्रमुख दिनेश प्रसाद यादवले भने आफूमाथि लगाइएका आरोपहरू निराधार रहेको बताएका छन्। उनका अनुसार वडा नं. १ मा किसानहरूको मागअनुसार कृषि सडक निर्माण कार्यका लागि जेसिबी पठाइएको थियो। आगलागी भएको समयमा आफू जनकपुरधामबाट फर्किने क्रममा रहेको र घटनाको जानकारी पाएलगत्तै सबैला नगरपालिकाको बारुणयन्त्र, इलाका प्रहरी कार्यालय यदुकुहा लगायत सम्बन्धित निकायलाई खबर गरिएको उनले बताए।
मेयर यादवले जेसिबी सञ्चालनकै क्रममा प्राविधिक कारणले आगलागी भएको हुन सक्ने उल्लेख गर्दै क्षतिको मूल्याङ्कन तथा बीमा दाबी प्रक्रियाका लागि सम्बन्धित बीमा कम्पनीलाई पत्राचार गरिसकिएको जानकारी दिएका छन्। घटनाको वास्तविक कारणबारे थप अनुसन्धान भइरहेको छ।
शहिदनगरको जेसिबी आगलागी प्रकरणः आरोप–प्रत्यारोपबीच मेयर यादवको स्पष्टीकरण
तपाईको प्रतिक्रिया
सम्बन्धित खबर






