धनुषा, साउन ९ — धनुषाको सबैला नगरपालिका वडा न.३ स्थित इलाका प्रहरी कार्यालय सबैला परिसरमा निर्माण सम्पन्न महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवनको शनिबार नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले उद्घाटन गरेका छन्।
नेपाल सरकारको सुरक्षा तथा न्याय कार्यक्रम (Security and Justice Program) अन्तर्गत बेलायत सरकारको आर्थिक सहयोग तथा UNOPS को प्राविधिक सहकार्यमा निर्माण गरिएको उक्त भवनको कुल क्षेत्रफल २८७.२५ वर्गमिटर रहेको छ। भवन निर्माण तथा आवश्यक सरसामानसहितको लागत रु. ३ करोड ३ लाख ५४ हजार ६ सय १ रुपैयाँ ७८ पैसा रहेको जनाइएको छ। भवन निर्माणको जिम्मा Lama Construction Pvt. Ltd. ले लिएको थियो।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले धनुषामा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमाथि हुने अपराध न्यूनीकरणका लागि प्रहरी मात्र नभई सम्पूर्ण समाजको साझा भूमिका आवश्यक रहेको बताए। उनले हरेक नागरिकलाई प्रहरीको मात्रै भरमा सुरक्षा दिन सम्भव नरहेको उल्लेख गर्दै स्थानीय सरकार, शिक्षक, विद्यार्थी, अभिभावक, नागरिक समाज तथा सञ्चारकर्मीले पनि आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने बताए।
उनले सञ्चारकर्मीको भूमिका असल नागरिक, सभ्य समाज र सकारात्मक वातावरण निर्माणमा अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै धनुषा सबैको साझा जिल्ला भएकाले सबैले मिलेर शान्त, सभ्य र सुरक्षित समाज निर्माण गर्नुपर्ने धारणा राखे।
आईजीपी कार्कीले सानो–सानो विवादलाई ठूलो झगडामा परिणत हुन नदिन सबैले संयमता अपनाउन आग्रह गर्दै, “बरु यो सेवा केन्द्र खाली रहोस्, तर जिल्ला अशान्त नहोस्,” भने।
बालबालिकामाथि हुने हिंसा, बोक्सी आरोपजस्ता अन्धविश्वास र सामाजिक विकृतिको अन्त्य गर्न सबै पक्ष सचेत हुनुपर्नेमा जोड दिँदै उनले कुनै पनि समस्या वा अन्यायमा पीडितले यही सेवा केन्द्रबाट सहज रूपमा न्याय पाउने विश्वास व्यक्त गरे।
उनले प्रहरी संगठनको नाम दुरुपयोग गर्दै “आईजीपी, डीआईजी वा एसपीको फोटो देखाएर काम गराइदिन्छु” भन्ने व्यक्तिहरू नै वास्तविक बिचौलिया भएको भन्दै त्यस्ता व्यक्तिबाट सचेत रहन नागरिकलाई आग्रह गरे।
प्रहरीले संविधान र कानुनअनुसार सबै नागरिकलाई समान व्यवहार गर्दै सेवा दिने शपथ खाएको उल्लेख गर्दै उनले मातहतका प्रहरी कर्मचारीलाई ठूलो–सानो नभनी सबैलाई समान सम्मानका साथ सेवा प्रवाह गर्न निर्देशन दिए। साथै, “नागरिकले सोध्न नपरोस्, प्रहरीले आफैं बुझेर सेवा दिनुपर्छ,” भन्दै सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन निर्देशनसमेत दिए।
कार्यक्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेल, मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक ओमप्रसाद अधिकारी, सबैला नगरपालिकाका प्रमुख कारीराम यादव, गणेशमान चारनाथ नगरपालिकाका प्रमुख जितनारायण यादव, पुर्व मेयर विजय शंकरप्रसाद साह पत्रकार मुकेश कुमार ठाकुर र इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक मन्दिप चौहान ,UNOPS नेपालका प्रतिनिधि, विभिन्न स्थानीय तहका जनप्रतिनिधि, सुरक्षा निकायका अधिकारी, सञ्चारकर्मी तथा स्थानीय सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।
सबैलामा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवन उद्घाटन, ‘प्रहरी मात्रैले शान्ति सम्भव छैन’ : आईजीपी कार्की
तपाईको प्रतिक्रिया
सम्बन्धित खबर






