रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

साउदीको १२०० किलोमिटर तेल पाइपलाइन बन्द, विश्व बजारमा आपूर्ति संकटको जोखिम

भदौ २७ । लगातार भइरहेको ड्रोन आक्रमणपछि साउदी अरबले आफ्नो महत्वपूर्ण ‘ईस्ट–वेस्ट’ तेल पाइपलाइन अस्थायी रूपमा बन्द गरेको छ। करिब १२०० किलोमिटर लामो उक्त पाइपलाइन बन्द भएपछि अन्तर्राष्ट्रिय बजारमा तेल आपूर्तिमाथि थप दबाब पर्न सक्ने देखिएको छ।

साउदीको ऊर्जा मन्त्रालयका अनुसार सुरक्षालाई ध्यानमा राख्दै पाइपलाइनको सञ्चालन तत्कालका लागि रोकिएको हो। बिहीबार रियाद तथा मदिना क्षेत्रमा पाइपलाइन लक्षित ड्रोन आक्रमण भएको थियो। आक्रमणबाट केही व्यक्ति घाइते हुनुका साथै पाइपलाइनमा क्षति पुगेको साउदी विदेश मन्त्रालयले जनाएको छ।

यो पाइपलाइन साउदी अरबका लागि रणनीतिक रूपमा निकै महत्वपूर्ण मानिन्छ। स्ट्रेट अफ हर्मुजको जलमार्ग प्रयोग नगरी साउदीको कच्चा तेल निर्यात गर्न सकिने वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको पाइपलाइनबाट पछिल्ला महिनामा दैनिक ४० लाखदेखि ५० लाख ब्यारेलसम्म कच्चा तेल प्रवाह हुँदै आएको थियो। यो विश्वव्यापी तेल आपूर्तिको करिब ४ देखि ५ प्रतिशत बराबर हो।

पाइपलाइनमाथिको आक्रमणपछि साउदी र इराकले आक्रमण इराकको भूभागबाट भएको हुनसक्ने बताएका छन्। इराकमा इरानसमर्थित सशस्त्र समूहहरूको प्रभाव रहेको क्षेत्रमा आक्रमण भएको आशंका गरिएको छ। घटनापछि इराकले एक सैन्य कमान्डरलाई पदबाट हटाउनुका साथै आक्रमणकारीको खोजीका लागि सुरक्षा अभियान तीव्र पारेको छ।

उता, आक्रमणपछि इराकले इरानसँग जोडिएको शालामचेह सीमा नाका समेत सावधानीस्वरूप बन्द गरेको छ। उक्त नाका इरानबाट इराकमा खाद्य सामग्रीलगायत वस्तु आयात गर्ने प्रमुख मार्गमध्ये एक हो।

रेड सीमा हुथीको दबदबा

साउदीको तेल पूर्वाधारमाथि आक्रमण भइरहेका बेला यमनका इरानसमर्थित हुथी विद्रोहीले रेड सी क्षेत्रमा आफ्नो सैन्य गतिविधि थप विस्तार गरेको खबर सार्वजनिक भएको छ।

यमनी सरकारी स्रोतका अनुसार रेड सीको प्रवेशद्वार बाब अल–मन्देब जलडमरूमध्य नजिकको रणनीतिक पेरिम टापु हुथीको नियन्त्रणमा पुगेको छ। यो क्षेत्र विश्वव्यापी समुद्री व्यापार तथा तेल ढुवानीका लागि अत्यन्त महत्वपूर्ण मानिन्छ।

बाब अल–मन्देबमा हुथीको प्रभाव बढ्दै गएमा खाडी क्षेत्रबाट हुने तेल तथा अन्य वस्तुको अन्तर्राष्ट्रिय ढुवानी थप जोखिममा पर्न सक्ने चिन्ता बढेको छ।

साउदीले माग्यो अमेरिकासँग सैन्य सहयोग

यसैबीच, हुथीको बढ्दो सैन्य गतिविधिविरुद्ध साउदी युवराज मोहम्मद बिन सलमानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग फोनवार्ता गरी सैन्य सहयोग मागेको विवरण सार्वजनिक भएको छ।

रोयटर्सलाई उद्धृत गर्दै सार्वजनिक विवरणअनुसार युवराज सलमानले बिहीबार ट्रम्पलाई कम्तीमा दुई पटक फोन गरेका थिए। साउदीले हुथीविरुद्ध आवश्यक सैन्य सहयोग उपलब्ध गराउन अमेरिकासँग आग्रह गरेको बताइएको छ।

तर इरानले हुथीलाई सैन्य निर्देशन दिने गरेको आरोप अस्वीकार गर्दै आएको छ। यद्यपि रोयटर्सका अनुसार इरानी स्रोतहरूले पछिल्लो समय हुथीलाई थप आर्थिक सहयोग, हतियार तथा वरिष्ठ सैन्य अधिकारी उपलब्ध गराउने प्रतिबद्धता गरिएको दाबी गरेका छन्।

हुथीका सैन्य प्रवक्ता याह्या सारीले भने साउदी पानीजहाजबाहेक अन्य जहाजका लागि बाब अल–मन्देब क्षेत्रमा समुद्री आवागमन सुरक्षित रहेको दाबी गरेका छन्।

तेल बजारमा थप दबाबको संकेत

एकातर्फ स्ट्रेट अफ हर्मुजमा तनावका कारण तेल ट्यांकरको आवागमन प्रभावित भइरहेको र अर्कोतर्फ साउदीको वैकल्पिक तेल निर्यात मार्गसमेत बन्द भएपछि विश्व बजारमा तेल आपूर्तिको जोखिम थप बढेको छ।

साउदीले तत्काल कुनै जवाफी सैन्य कारबाही नगरे पनि आफ्नो राष्ट्रिय हित र सुरक्षाका लागि आवश्यक सबै कदम चाल्ने अधिकार सुरक्षित रहेको स्पष्ट पारेको छ। यसले खाडी क्षेत्रमा जारी तनाव थप गहिरिन सक्ने संकेत दिएको छ।

स्ट्रेट अफ हर्मुजदेखि बाब अल–मन्देबसम्मको रणनीतिक जलमार्ग र साउदीको तेल पूर्वाधारमा बढ्दो जोखिमले अहिलेको द्वन्द्वलाई केवल क्षेत्रीय सैन्य संघर्षमा सीमित नराखी विश्वव्यापी ऊर्जा आपूर्तिमै प्रभाव पार्न सक्ने खतरा बढाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर