धनुष टिभी धनुषा । साना किसान कृषि सहकारी संस्था लि., भरतपुरको २०औँ वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ।
संस्थाको सञ्चालक समितिको मिति २०८२/०६/१४ गते बसेको बैठक नं. ६/४३० को प्रस्ताव नं. ९ बमोजिम आयोजित साधारण सभाको उद्घाटन गणेशमान चारनाथ नगरपालिकाकी उपप्रमुख तुलसा कुमारी पाण्डे पटेलले पानसमा दीप प्रज्वलन तथा ब्यानर वाचन गरी गर्नुभएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख पटेलले १९ वर्ष पूरा गरी संस्था २०औँ वर्षमा प्रवेश गर्नु सबैको साझा सफलता भएको बताउनुभयो। उहाँले किसानलाई तरकारी खेतीमा रासायनिक मलको प्रयोग कम गरी सुरक्षित तथा दिगो कृषि प्रणाली अपनाउन आग्रह गर्नुभयो।
कार्यक्रममा विभिन्न सहकारी संस्थाका अध्यक्ष, प्रबन्धक तथा प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी, कर्मचारी, सुरक्षाकर्मी, पत्रकार तथा सेयर सदस्यहरूको उपस्थिति रहेको थियो।
साधारण सभाको अवसरमा प्रमुख अतिथि, अतिथिहरू, सेयर सदस्य तथा विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान गरिएको थियो।
कार्यक्रममा माधव अधिकारी, राम पुकार, पूर्व वडा अध्यक्ष सोनेलाल महतो, नवशान्ति विद्या आश्रमका प्रिन्सिपल पूर्णबहादुर लामा, रामसोभित यादव, सुनिल कुमार यादव, रामसुन्दर यादव, मुकेश कुमार ठाकुर, चित्रकुमारी सुवेदी, स्वतन्त्र युवा समूहका अध्यक्ष सुखदेव सागर यादव, सीए चित्रसेन साहलगायतको उपस्थिति रहेको थियो।
संस्थाका प्रबन्धक धनेश्वर यादवले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।







