धनुष टिभी,धनुषा। कार्तिक १६ गते। गणेशमान चारनाथ नगरपालिकामा युवा सहभागिता, रोजगारी तथा सार्वजनिक सूचनामा पारदर्शिता सुनिश्चित गर्न माग गर्दै स्वतन्त्र युवा परिषद्ले नगरपालिकाको ध्यानाकर्षण गराएको छ।
परिषद्का अध्यक्ष सुकदेव कुमार यादवले नगर प्रमुख जितनारायण यादवलाई पत्र बुझाउँदै नगर युवा परिषद् गठन तथा सञ्चालन, युवासम्बन्धी तथ्याङ्क सङ्कलन गरी रोजगारी र उद्यमशीलताका कार्यक्रम सञ्चालन तथा नगरपालिकाका योजना, बजेट र खर्च विवरण नियमित रूपमा सार्वजनिक गर्न माग गरेका हुन्।
पत्रमा युवालाई नीति निर्माण तथा विकास प्रक्रियामा संस्थागत र अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न स्थानीय कार्यविधि निर्माण गरी नगर युवा परिषद् गठन गर्नुपर्ने उल्लेख गरिएको छ।
त्यसैगरी नगरभित्रका युवाको शैक्षिक अवस्था, सीप, रोजगारी, बेरोजगारी र उद्यमशीलतासम्बन्धी तथ्याङ्क सङ्कलन गरी आवश्यकताका आधारमा लक्षित कार्यक्रम सञ्चालन गर्न परिषद्ले माग गरेको छ।
परिषद्ले सूचनाको हकसम्बन्धी कानुनी व्यवस्थाअनुसार नगरपालिका अन्तर्गतका योजना, बजेट, खर्च, सार्वजनिक खरिद, निर्णय तथा कार्यक्रमको विवरण नियमित रूपमा सार्वजनिक गर्न पनि आग्रह गरेको छ।
पत्र प्राप्त भएको १५ दिनभित्र माग कार्यान्वयनका लागि आवश्यक निर्णय, प्रक्रिया तथा समयबद्ध कार्ययोजना सार्वजनिक गरी लिखित जानकारी उपलब्ध गराउन परिषद्ले अनुरोध गरेको छ।
तोकिएको समयभित्र माग सम्बोधनको प्रक्रिया अघि नबढे ज्ञापनपत्र, सार्वजनिक बहस तथा शान्तिपूर्ण लोकतान्त्रिक आन्दोलनका कार्यक्रम सञ्चालन गर्ने चेतावनी समेत परिषद्ले दिएको छ।
परिषद्ले आफ्नो उद्देश्य नगरपालिका र युवाबीच द्वन्द्व सिर्जना गर्नु नभई सहकार्य, पारदर्शिता, जवाफदेहिता र युवामैत्री विकासको वातावरण निर्माण गर्नु रहेको जनाएको छ।







