जनकपुरधाम, साउन १६। धनुषाको जनकपुरधाममा जारी कर्फ्यु आदेश हटाइएको छ। जिल्ला प्रशासन कार्यालयले शनिबार बिहान १० बजेदेखि कर्फ्यु समाप्त गर्दै सुरक्षा अवस्थालाई मध्यनजर गरी निषेधाज्ञा लागू गरेको हो।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुटेलका अनुसार पछिल्लो सुरक्षा अवस्थाको समीक्षा, सुरक्षाकर्मीको प्रतिवेदन तथा सद्भाव र्याली शान्तिपूर्ण रूपमा सम्पन्न भएपछि कर्फ्यु हटाउने निर्णय गरिएको हो। यद्यपि सम्भावित अप्रिय गतिविधि रोक्न आवश्यक सतर्कता अपनाउँदै निषेधाज्ञा भने यथावत् राखिएको छ।
सुनसरीमा भएको घटनापछि जनकपुरधामसहित मधेश प्रदेशका विभिन्न जिल्लामा विरोध प्रदर्शन चर्किएको थियो। त्यसक्रममा सार्वजनिक सुरक्षा कायम राख्न जिल्ला प्रशासनले गत बिहीबार दिउँसो ३:३० बजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको थियो।
प्रशासनका अनुसार अहिले जनजीवन क्रमशः सामान्य बन्दै गएको छ। नागरिकलाई कानुनको पालना गर्न, अफवाहमा विश्वास नगर्न तथा सामाजिक सद्भाव कायम राख्न प्रशासनले आग्रह गरेको छ।
यसअघि सुनसरी र सिरहाको लहानमा पनि कर्फ्यु हटाएर निषेधाज्ञा लागू गरिसकिएको छ। जनकपुरधाममा पनि सोही मोडेल अपनाइएपछि मधेशका प्रभावित क्षेत्रमा अवस्था विस्तारै सामान्यतर्फ उन्मुख भएको प्रशासनको भनाइ छ।






