नेपालगञ्ज, साउन १७। सुनसरी र सिरहामा भएका घटनापछि देशका विभिन्न स्थानमा बढेको तनावका बीच बाँकेको नेपालगञ्जमा शनिबार सर्वपक्षीय सहभागितामा भव्य सद्भाव र्याली आयोजना गरिएको छ।
बीपी चोकबाट सुरु भएको र्याली वीरेन्द्र चोकसम्म पुगेको थियो। र्यालीमा विभिन्न धर्मका गुरु, राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, सुरक्षा निकाय, उद्योगी–व्यवसायी, नागरिक समाज, सञ्चारकर्मी तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो। जिल्ला प्रशासन कार्यालय बाँकेको संयोजनमा आयोजित कार्यक्रमले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकताको सन्देश दिएको छ।
सुनसरीको देवानगञ्ज–३ कप्तानगञ्जमा भएको घटनापछि पूर्वी तराईका जिल्लामा उत्पन्न तनावको प्रभाव अन्य क्षेत्रमा नपरोस् भन्ने उद्देश्यले प्रशासनले सर्वदलीय तथा सर्वपक्षीय छलफलसँगै सुरक्षा सतर्कता पनि बढाएको जनाएको छ।
बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले नागरिकलाई अफवाहमा विश्वास नगर्न र प्रमाणित सूचनामात्रै अनुसरण गर्न आग्रह गर्दै शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न सबै पक्षको सहकार्य अपरिहार्य रहेको बताए।
कार्यक्रममा सहभागी हिन्दु र मुस्लिम धर्मगुरुले हिंसाको विकल्प संवाद र आपसी विश्वास मात्रै भएको बताएका छन्। उनीहरूले कुनै पनि बहानामा सामाजिक सद्भाव बिगार्ने प्रयास सफल हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै सबै समुदायलाई संयमता अपनाउन आग्रह गरे।
नेपालगञ्ज विगतमा साम्प्रदायिक तनाव भोगिसकेको शहर भएकाले स्थानीय प्रशासन, नागरिक समाज र धार्मिक अगुवाहरूले विगतका अनुभवबाट पाठ सिक्दै अहिले नै संवाद, सहकार्य र जनचेतनामार्फत सम्भावित विवाद रोक्न सक्रियता बढाएका छन्।
सहभागीहरूले शान्ति, सद्भाव र आपसी सम्मान नै समाजको सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै नेपालगञ्जलाई सद्भावको सहरका रूपमा कायम राख्न सबै समुदायले मिलेर अघि बढ्नुपर्नेमा जोड दिएका छन्।






