जनकपुरधाम, साउन १४। संयुक्त हिन्दू मोर्चा र नेपाल सरकारबीच जनकपुरधाममा पुनः वार्ता भएको छ। गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा यात्री निवासमा भएको छलफलमा दुवै पक्षबीच विभिन्न विषयमा मौखिक सहमति जुटेको बताइएको छ।
वार्ताका क्रममा यसअघि प्रस्तुत गरिएको १३ बुँदे मागपत्रलाई थप स्पष्ट पार्दै केही नयाँ विषय समेटिएपछि सहमतिका बुँदा १८ पुर्याइएको जानकारी दिइएको छ। संयुक्त हिन्दू मोर्चाले आफ्ना मागहरू समेटिएको संशोधित मागपत्र गृहमन्त्री गुरुङलाई औपचारिक रूपमा हस्तान्तरण गरेको छ।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलका अनुसार शनिबार राति भएको प्रारम्भिक वार्तामा प्रस्तुत १३ बुँदे प्रस्तावलाई थप प्रस्ट र व्यवस्थित बनाउने उद्देश्यले आइतबार पुनः छलफल गरिएको हो। वार्ता सकारात्मक दिशामा अघि बढेको र दुवै पक्ष संवादमार्फत समाधान खोज्न सहमत रहेको उनले बताए।
यसअघि मोर्चाले सरकारसमक्ष बुझाएको १३ बुँदे मागपत्रमा पहिलो बुँदामा नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने माग उल्लेख गरिएको थियो भने अन्तिम बुँदामा माग सम्बोधन भएपछि आन्दोलनका कार्यक्रम फिर्ता लिने प्रतिबद्धता जनाइएको थियो।
सरकार र आन्दोलनरत पक्षबीच संवाद निरन्तर जारी रहेकाले मधेश प्रदेशमा पछिल्ला दिनमा देखिएको तनाव समाधानतर्फ उन्मुख हुने अपेक्षा गरिएको छ।






