साउन १८। देशको समसामयिक राजनीतिक घटनाक्रमबीच विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सोमबार ललितपुरमा छलफलमा जुटेका छन्।
छलफलमा प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक जनार्दन शर्मा, जनमत पार्टीका अध्यक्ष सीके राउत, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, आम जनता पार्टीका अध्यक्ष प्रभु शाह तथा जसपा नेपालका नेता जितेन्द्र सोनललगायत सहभागी रहेका छन्।
बैठकमा कुन–कुन विषयमा छलफल भइरहेको भन्नेबारे सहभागी नेताहरूले सार्वजनिक गरेका छैनन्। यद्यपि छलफल जारी रहेको पुष्टि गर्दै प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक जनार्दन शर्माले निष्कर्षमा पुगेपछि मात्रै विस्तृत जानकारी सार्वजनिक गरिने बताएका छन्।
यस्तै, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि छलफल सकारात्मक रूपमा अघि बढिरहेको उल्लेख गर्दै हालसम्म कुनै औपचारिक निर्णय नभएको र साझा निष्कर्ष तयार भएपछि त्यसबारे जानकारी गराइने बताएका छन्।
शीर्ष नेताहरूको यो भेटलाई वर्तमान राजनीतिक परिस्थिति, सम्भावित सहकार्य तथा आगामी रणनीतिका विषयमा केन्द्रित हुन सक्ने अनुमान गरिए पनि सहभागी पक्षहरूले औपचारिक रूपमा कुनै विषय खुलाएका छैनन्। त्यसैले बैठकको निष्कर्षलाई राजनीतिक वृत्तले चासोका साथ हेरेको छ।






