२७ भदौ। भोटेकोशी नदीको बाढीबाट क्षतिग्रस्त रसुवा र नुवाकोटको सडक सम्पर्क पुनःस्थापित गर्न भारत सरकारले नेपाललाई तीन वटा बेलिब्रिज उपलब्ध गराएको छ।
बाढीका कारण पक्की पुलहरू क्षतिग्रस्त तथा बगाएपछि अवरुद्ध सडक सञ्चालनमा ल्याउन भारतीय दूतावासले शनिबार सडक डिभिजन कार्यालय हेटौंडालाई बेलिब्रिज हस्तान्तरण गरेको हो।
भारतीय दूतावासका प्रतिनिधि नारायण सिंहले सडक डिभिजन कार्यालय हेटौंडाका प्रमुख किरण कार्कीलाई बेलिब्रिज हस्तान्तरण गरे। उनका अनुसार भारत सरकारको सहयोगमा करिब ७० मिटर बराबरका तीन वटा प्रिफ्याब्रिकेटेड स्टिल बेलिब्रिज नेपाललाई उपलब्ध गराइएको हो।
भारतले यसअघि पनि विपद्पछि क्षतिग्रस्त सडक संरचना पुनःनिर्माणका लागि नेपाललाई बेलिब्रिज सहयोग गर्दै आएको छ। २०८२ मंसिरमा भारतले काभ्रे, रामेछाप र सिन्धुलीमा बाढी तथा पहिरोबाट अवरुद्ध सडक सञ्जाल जोड्न सडक डिभिजन हेटौंडालाई ३८ करोड रुपैयाँ मूल्य बराबरका १० वटा बेलिब्रिज उपलब्ध गराएको थियो।
बेलिब्रिज हस्तान्तरण कार्यक्रममा मकवानपुर–१ का प्रतिनिधिसभा सदस्य प्रकाश गौतमले विपद्को समयमा भारतले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरे। उनले रसुवा र नुवाकोटमा बाढीका कारण ठूलो संख्यामा पुल क्षतिग्रस्त भएकाले सडक सम्पर्क सहज बनाउन थप बेलिब्रिज उपलब्ध गराउन भारत सरकारसँग आग्रह गरे।
गत १० भदौमा आएको बाढीले रसुवा, नुवाकोटलगायतका जिल्लामा सडक तथा पुलमा ठूलो क्षति पुर्याएको थियो। सडक विभागका अनुसार रसुवादेखि चितवनसम्मको सडकखण्डमा मात्रै ४१ वटा मोटरेबल पुल पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।
बेलिब्रिज जडान भएपछि बाढीका कारण अवरुद्ध सडकखण्डमा अस्थायी रूपमा यातायात सञ्चालन गर्न सहज हुने अपेक्षा गरिएको छ।






