धनुषा । मिथिला नगरपालिका–१ को नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गरिएको छ। विश्वकर्मा पूजाको अवसर पारेर बिहीबार आयोजित कार्यक्रममा नगरप्रमुख महेन्द्र महतो, उपप्रमुख सुनिता सिंह बुढाथोकी र वडा अध्यक्ष जोगी महतोले संयुक्त रूपमा भवनको उद्घाटन गर्नुभएको हो।
करिब ५० लाख रुपैयाँको लागतमा निर्माण गरिएको नयाँ वडा कार्यालय भवनबाट वडावासीलाई प्रशासनिक सेवा तथा कार्यालय सञ्चालनमा सहजता हुने बताइएको छ। आफ्नै भवन निर्माण भएपछि वडाका नियमित प्रशासनिक काम तथा नागरिकलाई प्रदान गरिने सेवा थप व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्न सहज हुने वडा अध्यक्ष जोगी महतोले जानकारी दिनुभयो।
भवन निर्माणका लागि आवश्यक एक कट्ठा जग्गा पूर्ववडा अध्यक्ष लक्ष्मी महतोले उपलब्ध गराउनुभएको जनाइएको छ। करिब २० लाख रुपैयाँ मूल्य पर्ने जग्गा उहाँले वडा कार्यालय भवन निर्माणका लागि दान गर्नुभएको हो।
भवन उद्घाटन कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, स्थानीयवासी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो।
मिथिला–१ मा ५० लाख लागतमा नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
तपाईको प्रतिक्रिया
सम्बन्धित खबर







