अरविन्द महतो धनुषा , माघ १५
काठमाडौंबाट जनकपुरधामतर्फ गइरहेको मधेस प्रदेश ०४(००१ख(०१५७ नम्बरको यात्रुबसमा एक पुरुषको शव फेला परेको छ। बस लालगढ नजिक रोकिएर यात्रुहरू ओर्लँदै गर्दा, बसको बीच भागमा रहेको प्यासेजमा अचेत अवस्थामा भेटिएका ती पुरुष मृत रहेको बुझिएको हो।
बसका कन्डक्टरले ती पुरुषलाई अचेत अवस्थामा देखेपछि तत्कालै प्रहरीलाई जानकारी दिएका थिए। घटनास्थलमा पुगेको प्रहरीले मृतकको शवलाई कानुनी प्रक्रिया पूरा गरी पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाएको छ।
इलाका प्रहरी कार्यालय ढल्केवरका अनुसार, बस र चालकलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान भइरहेको छ। मृतकको पहिचान खुलाइसकिएको छ, र मृतकका छोरालाई घटनास्थलमा बोलाएर मृत्युको कारणबारे अनुसन्धान जारी छ।
घटनाको प्रारम्भिक जानकारीअनुसार मृत्युको कारणबारे अझै स्पष्ट तथ्य प्राप्त भएको छैन। प्रहरीका अनुसार विस्तृत रिपोर्ट पोष्टमार्टमपछि मात्र आउने बताए ।




