धनुषा– धनुषा जिल्लाको धनुषाधाम नगरपालिका–९, धारापानी चौकमा बस्दै आएकी ४० वर्षीया सुनिषा आङ्देनवे आफ्नो तीन सन्तानको पालनपोषणका लागि जीवन र संघर्ष गरिरहेकी छिन्। पाचथर जिल्लाबाट श्रीमानसँग बसाइँ सरेकी उनी केही वर्षअघि श्रीमानलाई गुमाइसकेकी छिन्। श्रीमान्को क्यान्सर उपचारका क्रममा सबै सम्पत्ति खर्चिएपछि उनी अहिले आर्थिक संकटको चपेटामा परेकी छिन्।
सुनिषाले चिया र भुजा बेच्ने सानो व्यवसाय चलाउँदै आइरहेकी छिन्, तर त्यसबाट पर्याप्त आम्दानी हुन सकेको छैन। उनले दुई पसलबाट उधारो सामान लिएर र एक स्थानीयबाट दुई हजार रुपैयाँ सापटी ल्याएर आफ्नो परिवारलाई जसोतसो पालिरहेकी छिन्। “पसलको उधारो तिर्नुपर्ने छ, बच्चाहरूलाई खान र बस्न गाह्रो भइरहेको छ,” उनले बताइन्।
रात कटाउन उनी एउटा सटर भाडामा लिएर बस्छिन्, तर सुविधाको अभावले गर्दा त्यहाँ बस्न असहज छ। “बच्चाहरूलाई दिसा–पिसाब गराउन राति सटर खोल्नुपर्ने हुन्छ, तर सुरक्षित पनि छैन,” उनले दुखेसो पोखिन्।
स्थानीय निकाय वा समाजसेवीहरूको सहयोग पाए मात्र उनको अवस्था सुधार हुन सक्छ। उनले यस कठिन समयमा दयालु व्यक्तिहरूलाई सहयोगको लागि अपिल गरेकी छिन्।
यदि कसैले उनलाई सहयोग गर्न चाहनुहुन्छ भने,पत्रकार मुकेश कुमार ठाकुरमार्फत उनलाई सम्पर्क गर्न सक्नुहुन्छ।




