२३ फागुन, जनकपुरधाम । साँखुको अनाथालयमा मानिस सुतिरहेकै कोठामा टिपर पस्दा ३ जनाको मृत्यु भएको छ। आज बिहान ३स्४० बजे अनाथालयभित्र बा २ क ६५८० नम्बरको टिपर अनियन्त्रित भइ छिरेको थियो, जसको कारण उक्त दुर्घटना भएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहोराका अनुसार, टिपरको ठक्करबाट २१ वर्षीय आकाश, २१ वर्षीय सुमन, र ४५ वर्षीय हरिजनको मृत्यु भएको छ। यो टिपर शंखरापुर नगरपालिका(६ साँखु सलम्बुटारस्थित ब्रमखेल सडक खण्डमा सिन्धुपाल्चोक मेलम्ची(१२ का २५ वर्षीय सागर माझीले चलाएको थियो। उक्त अनाथालय युबराज थापाले सञ्चालन गर्दै आएका थिए। द्वन्द्व पीडित र अपाङ्ग समाज संस्थाले बनाएको जस्ताको टहरामा ६१ जना बस्दै आएका थिए। टिपरले छिरेको कोठामा १० जना सुतिरहेका थिए। घटनामा ३ जनाको मृत्यु भए पनि अन्य ७ जना घाइते भएका छन्। उनीहरूलाई उपचारको लागि नेपाल मेडिकल कलेज अत्तरखेल पठाइएको छ। तीनै मृतकलाई अस्पतालले मृत घोषणा गरेको हो। टिपर र चालकलाई नियन्त्रणमा लिइएको र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।




