धनुषा, २०८१ फागुन २८ – आउँदै गरेको मिथिला माध्यमिक परिक्रमा मेला तथा होली पर्वलाई सुरक्षित, मर्यादित र व्यवस्थित रूपमा सम्पन्न गर्न जिल्ला प्रहरी कार्यालय धनुषाको सभाहलमा सुरक्षा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
सो कार्यक्रम प्रहरी नायव उपरीक्षक बरुण बहादुर सिंहको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा धनुषा जिल्लाका स्थानीय प्रतिनिधिहरू, विभिन्न संघ(संस्थाका पदाधिकारीहरू तथा सुरक्षासँग सम्बन्धित निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो।
१५ दिने मिथिला माध्यमिक परिक्रमा मेला तथा होली पर्वका क्रममा शान्ति(सुरक्षा सुनिश्चित गर्न आवश्यक उपायहरूबारे बैठकमा गम्भीर छलफल भएको थियो। सहभागीहरूले सम्भावित चुनौतीहरू, सुरक्षा रणनीतिहरू तथा समन्वयका उपायहरूबारे आ(आफ्ना विचार राखेका थिए।
प्रहरी नायव उपरीक्षक सिंहले आम नागरिकलाई सुरक्षित वातावरण प्रदान गर्नका लागि जिल्ला प्रहरी कार्यालय प्रतिबद्ध रहेको बताउँदै, मेलाका क्रममा कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन सुरक्षा व्यवस्था थप कडा पारिने जानकारी दिए।
सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन स्थानीय प्रशासन, नागरिक समाज, स्वयंसेवी संस्थाहरू र सुरक्षाकर्मीहरूबीच घनिष्ठ समन्वय आवश्यक रहेको बैठकले निष्कर्ष निकालेको छ।




