सिरहा, मिर्चैया – सिरहा मिर्चैया नगरपालिकाको पूर्व र पश्चिम क्षेत्रमा सञ्चालनमा रहेका मारुती सिमेन्ट र सुर्य सिमेन्ट उद्योगका लागि चुनढुङ्गा ढुवानी गर्ने ओभरलोड टिपरहरूको तीव्र गतिका कारण स्थानीय बासिन्दा ठूलो समस्यामा परेका छन्।
ती टिपरका कारण सडक दुर्घटना, धूलो प्रदूषण तथा अन्य समस्याहरू दिन प्रतिदिन बढ्दै गएका छन्।
यस विषयमा प्रदेशसभा सदस्य भाग्यश्री चौधरी ले चिन्ता व्यक्त गर्दै भनिन्, प्रहरी प्रशासनले आवश्यक तदारुकता देखाएको भए यस्तो अवस्था आउने थिएन। तर हालसम्म प्रशासनले प्रभावकारी कदम चालेको देखिँदैन।
उनले सरकारका नियमनकारी निकायहरूलाई सचेत गराउँदै भनिन्, म यस क्षेत्रको जनप्रतिनिधिको नाताले चेतावनी दिन चाहन्छु— यदि छिट्टै सुधारका उपाय नअपनाइए, भने आम जनताको आक्रोशबाट उत्पन्न हुने कुनै पनि क्षतिको जिम्मेवारी सरकारका नियमनकारी निकाय र स्थानीय प्रशासनले लिनुपर्नेछ।
स्थानीय बासिन्दाहरूले पटक–पटक सम्बन्धित निकायलाई गुनासो गरे पनि समस्या यथावत् रहेको गुनासो गरेका छन्।
उनीहरूका अनुसार ओभरलोड र तीव्र गतिका टिपरहरूका कारण साना सवारी साधन तथा पैदलयात्रीहरू जोखिममा परिरहेका छन्।




