धनुषा,चैत ३ – धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिका वडा नं. ३ र ४ मा अवैध उत्खनन तीव्र रुपमा भइरहेको छ। उत्खनन माफियाले जनप्रतिनिधिहरूसँग मिलेर अवैध उत्खनन गरिरहेको आरोप स्थानीयवासीले लगाएका छन्। यसले खेतीयोग्य जमिन नष्ट गर्नुका साथै पर्यावरणमा गम्भीर असर पारिरहेको छ।
स्थानीय राजकुमार यादवका अनुसार, अनुगमन टोलीहरू केवल देखावटी निरीक्षण मात्र गरिरहेका छन्। प्रहरी कार्यालय नगरपालिका नजिकै भए पनि अवैध उत्खनन नियन्त्रण गर्न कुनै प्रभावकारी कदम चालिएको छैन।
डरलाग्दो असरहरू
उत्खननका कारण जताततै खाल्डाखुल्डी बनेका छन्, जसमा गाईभैंसी तथा बालबालिकाको डुबेर मृत्यु हुने घटनाहरू दोहोरिने छन्।
गाउँ छोडेर खोला तिर उत्खनन गर्नुपर्नेमा किसानका निजी खेतमै अवैध उत्खनन भइरहेको छ।
माटोको अनियन्त्रित दोहनले खेती योग्य जमिन बाझो हुने खतरा बढेको छ।
केही दिनअघि मुख्यमन्त्री सतिश सिंहले रातको समयमा अनुगमन गर्दा स्थानीय किसानहरू खुसी भएका थिए। तर, पछिल्लो समय कुनै पनि प्रभावकारी अनुगमन नभएकाले अवैध उत्खनन फेरि उग्र रूपमा बढिरहेको स्थानीय समाजसेवीहरूले बताएका छन्।
स्थानीय बासिन्दाले सरकार र प्रशासनलाई तुरुन्तै कठोर कदम चाल्न आग्रह गरेका छन्। यदि चाँडो नियन्त्रण नगरिए, गणेशमान चारनाथ नगरपालिकाको भू(परिस्थितिमा भयावह संकट आउन सक्ने चेतावनी विज्ञहरूले दिएका छन्।




