जनकपुरधाम, २०८१ चैत ९ – चुरे तथा वनजंगल संरक्षण अभियान नेपालको प्रथम भेला जनकपुरधामस्थित मैथिली विकास कोष भवनमा सम्पन्न भएको छ।
धार्मिक नगरी धनुषाधामको वानगंगा तथा धनुष मन्दिरको पाताल गंगाको निर्मल एवं पवित्र जलले उद्घाटन गरिएको उक्त भेलामा अभियानका अध्यक्ष सुनिल यादवको अध्यक्षता रहेको थियो। कार्यक्रममा प्रमुख अतिथि मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डल तथा विशिष्ट अतिथि मधेस प्रदेशसभाका उत्कृष्ट सांसद रामआशिष यादव रहेका थिए।
भेलामा धनुषमन्दिर/वानगंगा क्षेत्र संरक्षण तथा साप्ताहिक सरसफाइ अभियान संयोजक प्रमोद कुमार यादव,अभियानी इन्जिनियर महेश यादव, अभियानी पत्रकार मुकेश कुमार ठाकुर लगायतका अभियन्ताहरूको विशेष सहभागिता रहेको थियो। सहभागी वक्ताहरूले चुरे संरक्षण, वनजंगलको दीर्घकालीन बचावट, तथा वातावरणीय सन्तुलनका लागि आवश्यक कदमहरूबारे महत्वपूर्ण छलफल गरेका थिए।
कार्यक्रममा चुरे दोहन रोक्न कानुनी एवं नीति निर्माणको आवश्यकता, जलस्रोत संरक्षण, तथा हरित अभियानलाई बलियो बनाउने विषयमा व्यापक बहस भएको थियो। अभियानले संरक्षणका लागि दीर्घकालीन रणनीति तयार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।




