रामनारायण ठाकुर,सिरहा — मधेस प्रदेशको सिरहा जिल्लाको तराई क्षेत्रमा किसानहरू अझै पनि परम्परागत इन्धनको रूपमा गोबरबाट बनेको गोहा प्रयोग गर्दै आएका छन्। सिरहाको कल्याणपुर नगरपालिका–५, चिकना भोक्रहा मरेवा,भेडिया रामपुरा लगाइत क्षेत्रमा किसानहरूले गोबर गोहा बनाउने र प्रयोग गर्ने परम्परा जोगाउँदै आएका छन्।
स्थानीय किसान मनोहरी देवीका अनुसार, यो परम्परा प्राचीन समयदेखि चलिआएको हो। किसानहरू गाई, भैंसीजस्ता पशुहरूबाट संकलित गोबरलाई घेरामा राखेर राम्ररी सुकाउने गर्छन्। त्यसपछि त्यसलाई गोहा गोबरका ढुंगामा परिणत गरी सुकाएपछि खाना पकाउने इन्धनको रूपमा प्रयोग गरिन्छ।
कमला नदीको किनारमा बसोबास गर्ने किसानहरूले गोबर गोहा सजिलै उपलब्ध गराउने गरेका छन्। यसले ग्यास र कोइला जस्ता विकल्पहरू सीमित भएका ग्रामीण भेगका बासिन्दालाई सस्तो र सजिलो इन्धनको व्यवस्था मिलाएको छ।
गोबर गोहा केवल आर्थिक हिसाबले मात्र होइन, वातावरणीय दृष्टिले पनि लाभदायक मानिन्छ। अन्य इन्धनको तुलनामा यसले हरितगृह ग्यास कम उत्सर्जन गर्छ र जलिसकेपछि बाँकी रहेको खरानी माटोको उर्वरक सुधारमा उपयोग गर्न सकिन्छ।
सिरहा,धनुषा,महोत्तरी लगायत तराई भेगमा गोबर गोहा अझै पनि कृषकहरूको दैनिकीमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ। यसले कृषक समुदायलाई वातावरणमैत्री र टिकाउ जीवनशैलीमा सहयोग पुर्याइरहेको छ।




