मुकेश कुमार ठाकुर
जनकपुरधाम, चैत २७ – ‘प्रदेशको समृद्धिको आधार, खेत–खेतमा सिचाइ’ अभियान अन्तर्गत धनुषा जिल्लाको बटेश्वर गाउँपालिका–२, सितापुर खोरियामा पावर ड्रिल ट्युवेलको शिलान्यास गरिएको छ।
मधेश प्रदेश सरकार अन्तर्गत ऊर्जा, सिचाइ तथा खानेपानी मन्त्रालयद्वारा श्री वनदेवी सिचाइ योजना अन्तर्गत उक्त ट्युवेल जडान गरिने हो। कार्यक्रममा नेपाली कांग्रेसका सह–महामन्त्री तथा पूर्व खानेपानी मन्त्री महेन्द्र यादव र प्रदेशका ऊर्जा, सिचाइ तथा खानेपानी मन्त्री शेष नारायण यादवले संयुक्त रूपमा शिलान्यास गरे।
करीब १६ लाख रुपैयाँ लागतमा निर्माण हुने ६ इन्च चौडाइ र १२५ मिटर गहिरो ट्युवेलबाट दुई दर्जन किसानका झण्डै २० विघा जमिनमा सिचाइ सुविधा पुग्ने जानकारी इन्जिनियर अमलेश यादवले दिए।
श्री वनदेवी सिचाइ योजनाका अध्यक्ष जनार्दन प्रसाद राईका अनुसार सिचाइ अभावमा बाँझो रहेको जमिनमा उत्पादन सुरु हुने विश्वास गरिएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले संघीय सरकारको विभेदका कारण मधेशका ठूला सिचाइ आयोजनाहरू अलपत्र रहेको उल्लेख गर्दै प्रदेश सरकारले साना योजनामार्फत समाधान खोजिरहेको बताए।




