मुकेश कुमार ठाकुर, धनुषा, २२ बैशाख – स्थानीय प्रशासनिक सेवाहरू जनताको सहज पहुँचमा पुर्याउने उद्देश्यका साथ धनुषाधाम नगरपालिकामा छिट्टै इलाका प्रशासन कार्यालय स्थापना हुने भएको छ।
आज सहायक प्रमुख जिल्ला अधिकारी उमेश कुमार दाहाल, अधिकृत निरज श्रीवास्तव तथा धनुषाधाम नगरपालिकाका मेयर बालेश्वर मण्डलसहितको टोलीले प्रस्तावित कार्यालय भवनको स्थलगत अनुगमन गरेको छ। टोलीले सम्भावित स्थानको अवलोकन गर्दै आवश्यक भौतिक संरचना, व्यवस्थापन तथा पूर्वाधारहरूको अवस्था मूल्यांकन गरेको थियो।
मेयर बालेश्वर मण्डलले गृह मन्त्रालयसँग समन्वय गरेर कार्यालय स्थापनाका लागि नगरपालिकाको तर्फबाट सक्दो प्रयास भइरहेको जानकारी दिनुभयो। सुरुवाती चरणमा अतिथि सदनलाई अस्थायी कार्यालयको रूपमा प्रयोग गरिने र स्थायी संरचना पछि निर्माण गरिने उहाँले बताउनुभयो।
“स्थानीय सेवाको सहज पहुँचका लागि यो कार्यालय अत्यन्त आवश्यक छ,” मेयर मण्डलले धनुष टिभीसँगको कुराकानीमा भन्नुभयो, “नगरपालिकाको तर्फबाट पूर्ण सहयोग रहनेछ।”
यो कार्यालय स्थापना भएसँगै धनुषाधाम तथा आसपासका पालिकाका नागरिकले आफ्नै क्षेत्रमा विभिन्न प्रशासनिक सेवा प्राप्त गर्न सक्नेछन्, जसले सेवा प्रवाहलाई अझ सहज, प्रभावकारी र जनमुखी बनाउने अपेक्षा गरिएको छ।




