रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

सबैला नगरपालिका–९ को चौक अब ‘श्रीराम चौक’ नामले चिनिने, लामो समयको विवाद अन्त्य

[sharethis-inline-buttons]

धनुषा, २०८२ माघ २ ४— सबैला नगरपालिका वडा नं. ९ मा रहेको विवादित चौकलाई अबदेखि श्रीराम चौक नामले औपचारिक रूपमा चिनिने भएको छ। वडा अध्यक्ष मनिष कुमार रायको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले सर्वसम्मत रूपमा नामकरणको निर्णय गर्दै स्थानीय समुदायबीच लामो समयदेखि चल्दै आएको विवादलाई अन्त्य गरेको हो।

जिल्ला प्रशासन कार्यालयको पहलमा सुरु भएको समन्वय प्रक्रिया र नगरपालिका कार्यपालिकाको जिम्मेवारीमा सम्पन्न उक्त बैठकमा स्थानीय अगुवा, बुद्धिजीवी, समाजसेवी, राजनीतिक दलका प्रतिनिधि तथा सुरक्षाकर्मीहरूको समेत उल्लेखनीय सहभागिता रहेको थियो।

रामघाट क्षेत्रको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्वलाई ध्यानमा राख्दै चौकको नाम श्रीराम चौक राख्ने प्रस्ताव अघि सारिएको हो। बैठकमा सहभागी सबै पक्षको सहमतिमा प्रस्ताव पारित गरिएको जानकारी दिइएको छ।

बैठकले चौकमा ‘श्रीराम चौक’ लेखिएको संकेत बोर्ड सार्वजनिक रूपमा राख्ने निर्णय समेत गरेको छ। संकेत बोर्डमा रामघाटतर्फ, कोल्लुवा मोड, र सतोश्वरधाम जाने दिशाहरू स्पष्ट रूपमा उल्लेख गरिनेछ। बोर्ड स्थानीय जनप्रतिनिधि तथा सुरक्षाकर्मीहरूको उपस्थितिमा अनावरण गरिनेछ।

उक्त चौकमा नामकरणको विषयलाई लिएर विगतमा समुदायहरूबीच बारम्बार विवाद उत्पन्न भएको थियो। केही समयअघि स्थिति तनावग्रस्त बनेपछि प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै हवाई फायर समेत गर्नुपरेको थियो। सो घटनामा एक युवक गम्भीर घाइते समेत भएका थिए।

स्थानीय पूर्व नगरप्रमुख विजय शंकर प्रसाद साह, वडा सदस्य सिता कुमारी यादव, समाजसेवी राम पुकार यादव, कैलाश प्रसाद साहलगायत अन्य प्रतिष्ठित व्यक्तित्वहरूको सक्रिय उपस्थितिमा भएको यो निर्णयले अब क्षेत्रीय सद्भाव र स्थायित्व कायम गर्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर