सिरहा — मिर्चैया नगरपालिका–३ की वडा अध्यक्ष पवित्रि देवी यादवका पति खगेश्वर गोहीवार यादव पुनः प्रहरी नियन्त्रणमा परेका छन्। यसपटक उनले अदालतको पत्र लिएर आएका सरकारी कर्मचारीमाथि दुव्र्यवहार तथा अभद्र व्यवहार गरेका थिए।
सरकारी काममा खटिएका कर्मचारीमाथि दुव्र्यवहार भएको उजुरी इलाका प्रहरी कार्यालय मिर्चैयामा परेपछि प्रहरीले यादवलाई पक्राउ गरेको हो। उनलाई पक्राउ गर्दा समर्थकहरुले प्रहरी कार्यालयमा ढुंगा प्रहार गर्दै आक्रमण गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रयोग गर्नुपरेको थियो।
यसअघि यादव बैशाख महिनामा ज्यान मार्ने प्रयासको मुद्दामा अदालतबाट धरौटीमा रिहा भएका थिए। उनी २५ दिन थुनामा बसेपछि एक लाख रुपैयाँ धरौटीमा छुटेका थिए। तर छुटेको केही समयमै उनले पुनः आपराधिक गतिविधि दोहोर्याएका छन्।
यादवमाथि यसअघि पनि ज्यान मार्ने प्रयाससहितका कैयौं आपराधिक मुद्दा दर्ता छन्। बारम्बार आपराधिक क्रियाकलापमा संलग्न रहँदै आएका यादवलाई अदालतले धरौटीमा रिहा गरे पनि पछिल्ला घटनाले उनको व्यवहार र कानुनी प्रक्रिया माथि गम्भीर प्रश्न उठाएको छ।
प्रहरीका अनुसार हाल यादव प्रहरी नियन्त्रणमा छन् र घटनाको थप अनुसन्धान जारी छ।




