रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

श्रीमतीको हत्या गरी शव गाडेका अभियुक्त ९० दिनपछि पक्राउ, १० महिनाकी छोरी अझै बेपत्ता

[sharethis-inline-buttons]

धनुषा, जेठ ८ – आफ्नै श्रीमतीको हत्या गरी शव घरमै गाडेका धनुषाका एक अभियुक्तलाई प्रहरीले ९० दिनपछि पक्राउ गरेको छ। घटनाबारे जिल्ला प्रहरी कार्यालय धनुषाले आज पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो।

पक्राउ परेका व्यक्ति धनुषा जिल्लाको लक्ष्मिनिया गाउँपालिका–५, बनिनियाँ बस्ने ४० वर्षीय हरिराम यादव हुन्। उनलाई प्रहरीको विशेष टोलीले मिति २०८२ साल जेठ ८ गते बिहान ९ बजे बजे जनकनन्दिनी गाउँपालिका–४ स्थित खजुरी रेलवे स्टेशनबाट पक्राउ गरेको हो।

प्रहरी अनुसन्धान अनुसार, २०८१ फागुन १७ गते दिउँसो यादवले आफ्नी २५ वर्षीया श्रीमती अञ्जली यादवलाई कुटपिट गरी हत्या गरेका थिए। त्यसपछि शवलाई घरको पूजा कोठामा गाडेर माथि ढलान गरिएको थियो।

स्थानीयले घरमा ताला लागेको र यादव परिवार नरहेको जानकारी दिएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। घरको ताला फोडी निरीक्षण गर्दा पूजा कोठामा नयाँ ढलान गरिएको पाइएपछि उत्खनन गर्दा करिब २ फिट मुनिबाट अञ्जली यादवको नाङ्गो अवस्थामा गाडिएको शव फेला परेको थियो।

मृतककी बुवा शिवधारी यादवले जिल्ला अदालत धनुषामा जाहेरी दिएपछि अदालतबाट पक्राउ अनुमति लिइएको थियो। त्यसयता फरार रहेका यादवको खोजी गर्दै जाँदा अन्ततः प्रहरीले उनलाई पक्राउ गर्न सफल भएको हो।

पत्रकार सम्मेलनमा जिल्ला प्रहरी प्रमुख एसपी नरहरी रेग्मीले घटनाबारे जानकारी दिँदै भने, “अभियुक्त पक्राउ परिसके पनि उनीसँगै अन्तिमपटक देखिएकी १० महिनाकी छोरी अझै बेपत्ता छिन्। खोजी कार्य तीव्र पारिएको छ र सम्भावित सबै स्थानमा अनुसन्धान जारी छ।”

प्रहरीले घटनालाई गम्भीर मान्दै वैज्ञानिक ढंगबाट थप अनुसन्धान अगाडि बढाइरहेको जनाएको छ। बेपत्ता शिशु सुरक्षित अवस्थामा फेला पार्ने प्रयासमा सम्पूर्ण स्रोत साधन परिचालन गरिएको धनुषा प्रहरीको भनाइ छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर