जनकपुरधाम, २८ साउन —
न्यायको प्रतीक मानिने कालो कोट लगाउने वकिलहरुले उल्टै हिंसात्मक व्यवहार प्रदर्शन गर्दै पत्रकारमाथि आक्रमण गरेका छन्। मंगलबार जनकपुरधाममा भएको घटनामा नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बनजारा, उपाध्यक्ष ज्योति झा,महासचिव शैलेन्द्र महतो ‘क्रान्ति’ ,दिवाकर राय र धनुष टिभीका पत्रकार अनिलकुमार निराला विनिता यादव घाइते भएका छन्।
नेपाल बार एसोसिएसनमा आबद्ध वकिलहरुले गरेको कुटपिटबाट महासचिव क्रान्तिको पैतालाको हड्डी भाँचिएको छ भने अन्य पत्रकारहरू समेत घाइते भएका छन्। पीडित पत्रकारहरूले जनकपुरधाम उपमहानगरपालिका–४ स्थित गुठी संस्थानको चार कट्ठा जग्गामा तारबार लगाउने क्रममा वकिलहरूको समूहले जबरजस्ती आक्रमण गरेको छ।
उक्त जग्गा गुठी संस्थानसँग २० वर्षका लागि लिजमा लिएर महासंघको प्रदेश कार्यालय भवन निर्माण गर्ने योजना छ। तर वकिलहरूले पार्किङ क्षेत्र भएको दाबी गर्दै कब्जा गर्न खोजेको छ।
घटनापछि पत्रकार महासंघ र स्थानीय बासिन्दाले वकिलहरूको हिंसात्मक क्रियाकलापको तीव्र आलोचना गरेका छन्। महासंघले आक्रमणकारीहरूमाथि कानूनी कारबाहीको माग गरेको छ।




