काठमाडौं, १८ चैत । अमेरिकी राष्ट्रपति Donald Trump ले इरानसँग जारी द्वन्द्व अन्त्य गर्ने संकेत दिएका छन्। उनले अमेरिका छिट्टै इरानबाट आफ्ना सैनिक फिर्ता गर्ने प्रक्रियामा जाने बताएका हुन्।
ओभल अफिसबाट बोल्दै ट्रम्पले अमेरिकी सेना आगामी दुईदेखि तीन हप्ताभित्र इरान छोड्ने तयारीमा रहेको जानकारी दिएका छन्। उनले इरानमा आफ्नो लक्ष्य पूरा भइसकेको दाबी गर्दै अब द्वन्द्व लम्ब्याउनु आवश्यक नरहेको बताएका छन्। यो खबर BBC ले सार्वजनिक गरेको हो।
यद्यपि, ट्रम्पले युद्ध अन्त्यअघि कुनै समझदारी वा सम्झौता हुन सक्ने सम्भावनालाई भने नकारेका छैनन्।
उता इरानका रक्षा मन्त्री मसुद पेजेस्कियान ले पनि युद्ध अन्त्यका लागि तेहरान तयार रहेको बताएका छन्। उनले भविष्यमा द्वन्द्व नदोहरिने सुनिश्चितता भए इरान शान्ति प्रक्रियामा जान तयार रहेको बताएका छन्।
तर Israel को धारणा भने फरक देखिएको छ। इजरायली प्रधानमन्त्री Benjamin Netanyahu ले हालसम्म युद्ध अन्त्यको कुनै स्पष्ट समयसीमा नदिएको जनाइएको छ।
पश्चिम एशियामा रहेका अमेरिकी कम्पनीहरूमाथि इरानले दिएको धम्कीबारे ट्रम्पले त्यसलाई गम्भीर रूपमा नलिएको संकेत दिएका छन्। उनका अनुसार इरानी नेतृत्वले त्यस्तो आक्रमण गर्ने सम्भावना न्यून छ।
यसअघि फेब्रुअरी अन्तिम साता अमेरिका र इजरायलले इरानमा संयुक्त आक्रमण गरेका थिए, जसमा Ali Khamenei लगायत उच्च अधिकारी मारिएको दाबी गरिएको छ। खामेनीको मृत्युपछि उनका छोरा Mojtaba Khamenei लाई नयाँ सर्वोच्च नेता बनाइएको खबर सार्वजनिक भएको छ, यद्यपि यसको आधिकारिक पुष्टि हुन सकेको छैन।
यस घटनाक्रमपछि खाडी क्षेत्रमा तनाव थप बढेको छ। इरानले बदलास्वरूप अमेरिकी सैन्य अड्डा र ऊर्जा पूर्वाधारमा आक्रमण जारी राखेको जनाइएको छ। यस युद्धका कारण इन्धन आपूर्ति प्रभावित हुँदा विश्वव्यापी असर देखिन थालेको छ।





