पप्पु साह।
धनुष टिभी, जनकपुरधाम । जानकी नवमी तथा राजर्षि जनक जयन्तीका अवसरमा राष्ट्रिय बिदा घोषणा गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय धनुषामार्फत सरकारसमक्ष पहल गरिदिन आग्रह गरिएको छ।
स्वामी राम स्वराजको नेतृत्वमा धर्मेन्द्र यादवसहितका प्रतिनिधिहरूले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग अघि सारेका हुन्।
ज्ञापनपत्रमा माता सीतालाई नारी मर्यादा, त्याग, धैर्य र पवित्रताको सर्वोच्च प्रतीकका रूपमा उल्लेख गरिएको छ भने राजर्षि जनकलाई धर्म, ज्ञान र न्यायका आदर्श शासक तथा दार्शनिक व्यक्तित्वका रूपमा चित्रण गरिएको छ। उनीहरूको योगदानले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा सांस्कृतिक र आध्यात्मिक पहिचान दिलाएको उल्लेख गरिएको छ।
यद्यपि, नेपाल सरकारले उनीहरूलाई राष्ट्रिय विभूतिको रूपमा सूचीकृत गरिसकेको भए पनि उनीहरूको जन्मोत्सवका दिन सार्वजनिक बिदा घोषणा नगरिनु विभेदपूर्ण र उपेक्षापूर्ण भएको ज्ञापनपत्रमा जनाइएको छ। अन्य विभूतिहरूको जन्मजयन्तीमा बिदा दिने परम्परा रहेको सन्दर्भमा जानकी नवमी र जनक जयन्तीमा बिदा नहुनु समानताको सिद्धान्त विपरीत भएको तर्क प्रस्तुत गरिएको छ।
प्रतिनिधिमण्डलले प्रत्येक वर्ष वैशाख शुक्ल नवमीमा मनाइने जानकी नवमी र फाल्गुन कृष्ण अष्टमीमा मनाइने राजर्षि जनक जयन्तीका दिन राष्ट्रिय बिदा घोषणा गर्न प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय तथा सम्बन्धित निकायमा सिफारिस गरिदिन प्रमुख जिल्ला अधिकारीसमक्ष आग्रह गरेको छ।
उक्त मागलाई जनभावनासँग जोडिएको विषय भन्दै सरकार संवेदनशील बन्नुपर्नेमा जोड दिइएको छ। साथै, सांस्कृतिक पहिचानको संरक्षण र प्रवर्द्धनका लागि ठोस नीति ल्याउन समेत माग गरिएको छ।
जानकी नवमी र राजर्षि जनक जयन्तीमा राष्ट्रिय बिदा घोषणा गर्न माग, सरकारलाई ज्ञापनपत्र
तपाईको प्रतिक्रिया
सम्बन्धित खबर






