रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

सलहेस मेलाको तयारी तीव्र, लहानमा ५ लाख दर्शक आउने अनुमान

[sharethis-inline-buttons]

नागेन्द्र महरा,धनुष टिभी, जनकपुरधाम —
बि.स.१३२५ मा स्थापित मैसोथा राज्य अन्तर्गत पर्ने हाल लहान नगरपालिका वडा नं.१२ र २२ क्षेत्रमा लाग्ने ऐतिहासिक सलहेस मेलाको तयारी तीव्र रूपमा अघि बढिरहेको छ। वडा नं. १२ स्थित सलहेस मेला समितिका अध्यक्ष दशमी लाल चौधरीका अनुसार यस वर्ष लहान क्षेत्रमा लाग्ने मेलामा करिब ५ लाखसम्म दर्शनार्थी आउने अनुमान गरिएको छ।
लोकविश्वासअनुसार राजा सलहेस र मालिनी कुस्माबीच गहिरो प्रेम सम्बन्ध हुँदाहुँदै पनि जातीय कारणले विवाह हुन नसकेको कथा यस मेलासँग जोडिएको छ, जसले मेलालाई थप सांस्कृतिक महत्व प्रदान गरेको छ।
मेला व्यवस्थापनलाई व्यवस्थित बनाउन यस वर्ष स्वास्थ्य शिविर, स्वच्छ खानेपानी तथा आकस्मिक उपचारका लागि २ वटा एम्बुलेन्सको व्यवस्था गरिएको छ। साथै, दर्शनार्थीको सहजताका लागि महिला र पुरुषका लागि छुट्टाछुट्टै लाइन व्यवस्था गरिएको छ भने विभिन्न स्थानमा अस्थायी चर्पीको समेत प्रबन्ध गरिएको आयोजकले जनाएको छ।
परम्पराअनुसार प्रत्येक वर्ष वैशाख १ गते मालिनी कुस्मा आफ्नो प्रेमी राजा सलहेसको प्रतीक्षामा हारमको गाछीमा फूलको माला लिएर आउने जनविश्वास रहँदै आएको छ, जुन यस मेलाको प्रमुख आकर्षण मानिन्छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर