धनुष टिभी,जनकपुरधाम। नेपाली आतिथ्य सेवा क्षेत्रमा स्थापित राष्ट्रिय ब्रान्ड होटल पौवा ले आफ्नो १९औँ शाखा जनकपुरधाममा सञ्चालनमा ल्याएको छ। सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत कम्पनीले नयाँ शाखाको औपचारिक उद्घाटन यही जेठ २२ गते हुने जानकारी दिएको हो।
होटल पौवाका अनुसार उद्घाटनको अवसरमा तीनदिने ‘वृहत् खाना प्रवर्द्धन’ कार्यक्रम आयोजना गरिनेछ। कार्यक्रममा पौवाका विभिन्न शाखामा कार्यरत अनुभवी सेफहरूले तयार गरेका नेपाली तथा अन्तर्राष्ट्रिय परिकारहरूको विशेष प्रदर्शनी गरिने बताइएको छ।
कम्पनीका उपाध्यक्ष ध्रुवराज न्यौपाने ले धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक केन्द्रका रूपमा परिचित जनकपुरधाममा होटल सञ्चालन हुनु पर्यटन तथा आतिथ्य क्षेत्रका लागि महत्वपूर्ण उपलब्धि भएको बताए। उनका अनुसार यसले धार्मिक पर्यटन, आन्तरिक पर्यटन, रोजगारी र स्थानीय अर्थतन्त्रलाई थप टेवा पुर्याउने विश्वास लिइएको छ।
जनकपुरधामस्थित चारतारे स्तरको होटलमा ६२ वटा सुविधा सम्पन्न कोठा रहेका छन्। स्विमिङ पुल, सेमिनार हल, रेष्टुरेन्ट, जिम, साउना लगायतका पूर्वाधार सञ्चालनमा आइसकेका छन्। होटलले नेपाली स्वाद, नेपाली संस्कार र अन्तर्राष्ट्रिय स्तरको सेवा २४सै घण्टा उपलब्ध गराउने जनाएको छ।
उद्घाटन समारोह तथा खाना प्रवर्द्धन कार्यक्रममा मधेश प्रदेशका आठवटै जिल्लाका उद्योगी, व्यवसायी, पर्यटनकर्मी, सञ्चारकर्मी तथा विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।
होटल पौवाका अध्यक्ष दुर्गाप्रसाद भण्डारी ले चुनौतीपूर्ण आर्थिक अवस्थाका बीच पनि कम्पनीले देशव्यापी रूपमा सेवा विस्तार गरिरहेको बताए। रुपन्देहीबाट सुरु भएको यात्रा जनकपुरधामसम्म आइपुग्दा पौवा नेपाली आतिथ्य उद्योगको स्थापित राष्ट्रिय ब्रान्ड बनेको उनको भनाइ छ।
हाल होटल पौवाका शाखाहरू भैरहवा, बुटवल, पोखरा, काठमाडौं, धनगढी, तानसेन, जुम्ला, लमही, घोराही, मुलकोट, कालिञ्चोक लगायत विभिन्न स्थानमा सञ्चालनमा छन्। साथै नेपालगञ्जमा पाँचतारे होटल तथा पाल्पाको झिंगामारामा लक्जरी रिसोर्ट निर्माणाधीन अवस्थामा रहेको कम्पनीले जनाएको छ।
प्रबन्ध निर्देशक विष्णु ज्ञवाली ले नेपाली स्वाद, संस्कार र आतिथ्यतालाई विश्वस्तरमा स्थापित गर्ने लक्ष्यसहित ‘मिसन १००’ अन्तर्गत आगामी दशकमा देश तथा विदेशमा सेवा विस्तार गर्ने रणनीतिमा कम्पनी अघि बढिरहेको बताए। उनले सामूहिक लगानी मोडलमार्फत कर्मचारीलाई समेत लगानीकर्ता बन्ने अवसर प्रदान गरिएको उल्लेख गरे।
जनकपुरधाममा होटल पौवाको १९औँ शाखा सञ्चालनमा, उद्घाटनसँगै तीनदिने ‘वृहत् खाना प्रवर्द्धन’ हुने
तपाईको प्रतिक्रिया
सम्बन्धित खबर






