धनुष टिभी ,जनकपुरधाम — जनकपुरधामस्थित धनुष टिभीमा आयोजित पत्रकार सम्मेलनमार्फत चिल्ड्रेन होलि प्लेस हाई स्कुल प्रशासनले विद्यालयमा लगाइएको तालाबन्दी तत्काल खुलाउन र पठनपाठन सुचारु गराउन सम्बन्धित निकायसँग माग गरेको छ।
विद्यालयका सञ्चालक अजय कुमार यादवले तालाबन्दीका कारण करिब ६५० विद्यार्थीको नियमित अध्ययन प्रभावित भएको बताउँदै विद्यालयको शैक्षिक वातावरण, भौतिक सम्पत्ति तथा महत्वपूर्ण कागजातको सुरक्षाप्रति चिन्ता व्यक्त गरे।
उनले विद्यालय १७ वर्षदेखि सञ्चालनमा रहेको र भवन तथा शैक्षिक पूर्वाधार निर्माणमा तीन करोड रुपैयाँभन्दा बढी लगानी भएको जानकारी दिए। विद्यालय प्रशासनले जग्गा विवादका नाममा गरिएको तालाबन्दी गैरकानुनी भएको दाबी गर्दै निष्पक्ष छानबिन र कानुनी प्रक्रियाको माग गरेको छ।
पत्रकार सम्मेलनमार्फत विद्यालय पक्षले तालाबन्दी हटाई विद्यार्थीको पठनपाठनलाई सहज बनाउन, विद्यालयभित्र रहेका सम्पत्तिको सुरक्षा सुनिश्चित गर्न तथा घटनाको सत्यतथ्य छानबिन गरी आवश्यक कारबाही गर्न प्रशासनसँग आग्रह गरेको छ।
विद्यालय प्रशासनले शिक्षाको मौलिक हकमाथि असर पर्ने गरी भएको गतिविधिले विद्यार्थीहरूको भविष्य अन्योलमा पारेको भन्दै समस्या समाधानका लागि तत्काल पहल गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।
तालाबन्दीले चिल्ड्रेन होलि प्लेस हाई स्कुल बन्द, ६५० विद्यार्थीको पढाइ प्रभावित
तपाईको प्रतिक्रिया
सम्बन्धित खबर






