– गणेशमान चारनाथ नगरपालिकाका नगर प्रमुख जित नारायण यादव
प्रश्न (पत्रकार मुकेश कुमार ठाकुर)प्रश्न: तपाईंको कार्यकाललाई कसरी मूल्याङ्कन गर्नुहुन्छरु
मेयर जित नारायण यादवस् मैले निर्वाचनका बेला जनतासामु गरेका अधिकांश प्रतिबद्धता पूरा हुने चरणमा छन्। काम गर्ने क्रममा चुनौती र समस्या आउँछन्, तर समस्यासँग अल्झिएर बस्नु हुँदैन। निरन्तर काम गर्दै अघि बढ्नुपर्छ भन्ने मेरो विश्वास हो।
प्रश्न: तपाईंको कार्यकालका मुख्य उपलब्धि के–के हुन्रु
मेयर: स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधार भएको छ। नगर अस्पतालमार्फत एमडीसहितको मेडिकल अफिसर टोलीबाट नियमित स्वास्थ्य सेवा उपलब्ध भइरहेको छ। एम्बुलेन्स सेवा निःशुल्क सञ्चालन गरेका छौं।
शिक्षा क्षेत्रमा विद्यालय भवन निर्माण, शिक्षक पदपूर्ति तथा शैक्षिक पूर्वाधार विस्तार गरेका छौं। कृषिमा किसानहरूको सिँचाइ विद्युत् महसुल नगरपालिकाले तिरेको छ। साथै विद्युत्का पोल, तार विस्तार, स्यालो ट्युबवेल र डिप बोरिङ जडान गरिएका छन्। नगरका विभिन्न स्थानमा कालोपत्रे सडक, ग्राभेल सडक तथा ढलान सडक निर्माण गरी पूर्वाधार विकासलाई तीव्रता दिएका छौं।
प्रश्न: विकासका क्रममा सबैभन्दा ठूलो चुनौती के रह्यो?
मेयर: जेएनजी आन्दोलनका कारण नगरपालिकाका करोडौं रुपैयाँ बराबरका योजना कटौती भए। त्यसले समग्र विकासमा असर पारेको छ। बजेट कटौतीका कारण केही योजना समयमै कार्यान्वयन गर्न कठिनाइ भयो।
प्रश्न: अवैध नदीजन्य पदार्थ उत्खनन रोक्न नसकेको भन्ने गुनासो छ। तपाईं के भन्नुहुन्छ?
मेयर:यो विषयमा हामीले धेरै प्रयास गरेका छौं। तर नगरपालिकाको अधिकार सीमित छ। सुरक्षा निकाय हाम्रो मातहतमा छैन। नगर प्रहरी र हामीले मात्रै लठ्ठी बोकेर माफियालाई रोक्न सक्दैनौं। केही दिनअघि पौरताहा प्रहरी चौकीका असईमाथि नै आक्रमण भएको घटना सबैले देखेका हुन्। यसअघि तत्कालीन मुख्यमन्त्री सतीश सिंहको पहलमा नियन्त्रणमा लिइएका धेरै जेसिबी र ट्र्याक्टर पनि पछि छुटे। त्यसैले अवैध उत्खनन नियन्त्रणका लागि केन्द्र सरकार र सुरक्षा निकायको प्रभावकारी भूमिका आवश्यक छ।
प्रश्न: सामाजिक क्षेत्रमा नगरपालिकाले के–कस्ता काम गरेको छ?
मेयर: ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सञ्चालन गरेका छौं। समयमै नगरसभा सम्पन्न गरेका छौं। सामाजिक सुरक्षा भत्ता पनि समयमै वितरण हुँदै आएको छ। अहिले नगरपालिकामा राम्रो कर्मचारी टोली छ, जसले सेवा प्रवाहलाई प्रभावकारी बनाएको छ।
प्रश्न: वडा नं. ५ लाई विशेष प्राथमिकता दिनुको कारण के हो?
मेयर: वडा नं. ५ हाम्रो नगरपालिकाको सबैभन्दा विकट क्षेत्र हो। वर्षायाममा सदरमुकामसँगको सम्पर्क नै प्रभावित हुन्छ। त्यसैले सडक, शिक्षा, खानेपानीलगायतका पूर्वाधार विकासका लागि त्यहाँ बढी बजेट विनियोजन गरेर काम गरिरहेका छौं।
प्रश्न: अन्त्यमा नगरवासीलाई के भन्न चाहनुहुन्छ?
मेयर: जनताले ममाथि विश्वास गरेर जिम्मेवारी दिएका हुन्। कार्यकालको अन्तिम दिनसम्म इमानदारीपूर्वक काम गर्नेछु। बाँकी रहेका विकासका काम र जनतासँग गरेका वाचा पूरा गर्न कुनै कसर बाँकी राख्ने छैन।






