धनुषाको शहीदनगर नगरपालिका–यदुकुहामा रहेको जानकी किचेन हाउसमा नेपाल आयल निगम लिमिटेड, इन्धन डिपो महेन्द्रनगर धनुषाको LPG ग्यास अनुगमन टोलीले छापा मारेको छ।
प्रमोदकुमार गोइतको नेतृत्वमा रहेको टोलीले जनकपुरधाम तीनकौरियाहुँदै यदुकुहा पुगेर संजय साहले सञ्चालन गरेको डिलरमा अनुगमन गरेको हो। इलाका प्रहरी कार्यालय यदुकुहा र स्थानीय जनताको सहभागितामा गरिएको अनुगमनका क्रममा ग्राहकलाई ग्यास नदिने, महँगोमा बिक्री गर्ने तथा प्रीमा ग्यास नोबेलको सिलिन्डरमा भरेर बिक्री गर्ने गरेको पाइएको टोलीले जनाएको छ।
अनुगमनका क्रममा पसलमा नराखी लुकाएर राखिएका प्रीमा ब्रान्डका १२० थान, नोबेलका ८ थान भरिएका सिलिन्डर र करिब ४०० थान खाली सिलिन्डर फेला परेको जनाइएको छ। त्यस्तै, प्रीमा ग्यास नोबेलको सिलिन्डरमा भरेर आधा–आधा गरी बिक्री गरिएका २३ थान सिलिन्डरसमेत फेला परेको टोलीले जनाएको छ।
टोलीले फेला परेका सबै सिलिन्डर बरामद गरेको जनाएको छ। अनुगमन टोलीमा प्रमोदकुमार गोइत, रामप्रकाश महतो, मनोज पुर्बे र हरि कु यादव सहभागी थिए।
टोली प्रमुख गोइतका अनुसार घटनाबारे थप अनुसन्धान गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइनेछ। अनुगमन हिजो साँझ करिब ७ बजे गरिएको थियो।
धनुषाको यदुकुहामा ग्यास डिलरमा छापा, सयौँ सिलिन्डर बरामद
तपाईको प्रतिक्रिया
सम्बन्धित खबर






