रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

शिक्षक छनोट प्रक्रियामा उच्च अदालत जनकपुरको अन्तरिम आदेश निरन्तर

जनकपुरधाम । उच्च अदालत जनकपुरले धनुषाधाम नगरपालिकामा शिक्षक छनोट तथा अन्तरवार्ता प्रक्रियासम्बन्धी रिटमा यसअघि जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको छ।
उच्च अदालत जनकपुरको संयुक्त इजलासले रिट नं. ०८३-WO-००१९ मा निवेदक महेश कुमार यादवले धनुषाधाम नगरपालिका समेतलाई विपक्षी बनाई दायर गरेको उत्प्रेषण/परमादेशसम्बन्धी निवेदनमा यस्तो आदेश दिएको हो।
अदालतका अनुसार शिक्षा विकास तथा समन्वय इकाइ, धनुषाले धनुषाधाम नगरपालिका समेतलाई पत्राचार गरेको अवस्थामा प्राथमिक तह तृतीय श्रेणीका शिक्षक विष्णु मण्डललाई शिक्षक छनोट समितिको सदस्य–सचिव तथा धनुषाधाम नगरपालिकाको शिक्षा शाखा प्रमुखको जिम्मेवारी दिइएको थियो।
उहाँले उम्मेदवारहरूको अन्तरवार्तामा माध्यमिक तह द्वितीय श्रेणीका शिक्षकसरह वा सोभन्दा माथिको हैसियतमा मूल्याङ्कनकर्ताको भूमिका निर्वाह गरी अंक प्रदान गर्नुका साथै परीक्षाफल प्रकाशन गरेको देखिएको अदालतको आदेशमा उल्लेख छ।
यसरी एउटै व्यक्तिले छनोट समितिको सदस्य–सचिवको जिम्मेवारीसँगै उम्मेदवारको अन्तरवार्तामा मूल्याङ्कनकर्ताको भूमिका निर्वाह गरेको अवस्थामा परीक्षा स्वच्छ रूपमा सञ्चालन भएको र उम्मेदवारको विज्ञताको यथार्थ मूल्याङ्कन भएको भन्न सकिने अवस्था नदेखिएको अदालतले ठहर गरेको छ।
यसै आधारमा अदालतले २०८३ साउन ७ गते जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिँदै आदेशको जानकारी धनुषाधाम नगरपालिकालाई गराउन आदेश दिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर