रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

रसुवा बाढीमा महोत्तरीका ९ जना अझै बेपत्ता, परिवारजनको एउटै आग्रह–‘खोजी गरिदिनुस्’

१८ भदौ, जनकपुरधाम । रसुवामा १० भदौमा आएको विनाशकारी बाढीपछि महोत्तरीका ९ जना अझै सम्पर्कविहीन छन्। बाढी आएको ८ दिन बितिसक्दा पनि आफन्तको अवस्था अज्ञात रहेपछि उनीहरूका परिवारजन चिन्तित बनेका छन्।

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका अनुसार रसुवाको बाढीमा महोत्तरीका १६ जना सम्पर्कविहीन भएको जानकारी प्राप्त भएको थियो। तीमध्ये ७ जना परिवारको सम्पर्कमा आइसकेका छन् भने ९ जनाको अवस्था अझै अज्ञात छ।

सम्पर्कविहीनमध्ये पिपरा गाउँपालिका–३ का ३० वर्षीय सिभिल इन्जिनियर विकाशकुमार यादवको परिवार भने उनी सुरुङभित्र सुरक्षित रहेको हुनसक्ने आशामा छ। यादव त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा सुपरभाइजरका रूपमा कार्यरत थिए।

यादवका जेठान सुनिलकुमार यादवका अनुसार बाढीपछि बिहान करिब ११ बजेतिर फोनको लोकेसन ट्र्याक गर्दा सुरुङ आसपास देखिएको थियो। उनीसँगै काम गर्ने करिब ३५ जनाको समूहसमेत सम्पर्कविहीन रहेको परिवारले जनाएको छ।

परिवारले उनीहरू सुरुङभित्रै उद्धारको प्रतीक्षामा रहेको हुनसक्ने अनुमान गरेको छ। उद्धारमा ढिलाइ भएको भन्दै परिवारले तत्काल खोज तथा उद्धार अभियान तीव्र बनाउन सरकारसँग आग्रह गरेको छ।

यस्तै, मटिहानी नगरपालिका–७ का ४० वर्षीय गंगाराम मण्डल पनि बाढीपछि सम्पर्कविहीन छन्। रिचा ट्र्याकस प्रालिमा भान्सेको रूपमा कार्यरत मण्डल कैलाश मानसरोवर यात्रामा गएका व्यक्तिहरूसँगै रसुवा पुगेका थिए।

बाढी आउनुअघि परिवारसँग कुराकानी गरेका मण्डल त्यसपछि सम्पर्कमा आएका छैनन्। सात सदस्यीय परिवारको मुख्य जिम्मेवारी उनकै काँधमा रहेको उनका बुबा अशेश्वर मण्डलले बताए।

‘छोराकै बलमा परिवार चलेको थियो। अब परिवार कसरी चल्छ ?’ भन्दै उनले सरकारसँग छोराको खोजी गरिदिन आग्रह गरेका छन्।

गंगारामकी श्रीमती गुञ्जादेवी र चार सन्तान पनि उनको अवस्थाबारे जानकारी पाउने प्रतीक्षामा छन्। छोरी सलोनी मण्डलले बुबालाई सकुशल घर फर्काइदिन सरकारसँग आग्रह गरेकी छन्।

यता, जलेश्वर नगरपालिका–९ का २२ वर्षीय हसन अन्सारीको परिवार पनि यस्तै पीडामा छ। रोजगारीका लागि करिब १० दिनअघि मात्रै रसुवा पुगेका अन्सारी ग्यारेजमा मेकानिकको रूपमा काम गर्दै आएका थिए। बाढीपछि उनी पनि सम्पर्कविहीन छन्।

हसनकी आमा मुलिमा खातुन छोराको प्रतीक्षामा छिन् भने दिदी एरम खातुनले भाइ जहाँ भए पनि तत्काल खोजी गरी घर फर्काइदिन सरकारसँग आग्रह गरेकी छन्।

महोत्तरीका अन्य सम्पर्कविहीनमा गौशाला नगरपालिका–८ ढल्केबरका ३० वर्षीय शीतलबहादुर लुङ्गेली, गौशाला नगरपालिका–१ का विजय थापा मगर, बर्दिबास नगरपालिका–९ की २२ वर्षीया जोया राना मगर, जलेश्वर नगरपालिका–१० का ३३ वर्षीय शशिलाल साह, लोहरपट्टी नगरपालिका–८ का ४२ वर्षीय सन्तोषकुमार ठाकुर र बर्दिबास नगरपालिका–३ का २८ वर्षीय सौभाग्य विष्ट रहेका छन्।

मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी प्रभुप्रसाद ढकालका अनुसार सम्पर्कविहीन व्यक्तिको विवरण परिवारजन तथा आफन्तले प्रहरीलाई निवेदन वा फोनमार्फत दिएको सूचनाका आधारमा तयार गरिएको हो।

प्रहरीका अनुसार महोत्तरीका ७ जना भने परिवारको सम्पर्कमा आइसकेका छन्। सम्पर्कमा आउनेमा जलेश्वर–९ का २२ वर्षीय राकेशकुमार यादव, भंगहा–९ हरिनमरिका ३५ वर्षीय श्रीकेश यादव, लोहारपट्टी–७ का २५ वर्षीय युवराज पाण्डे, औरही–९ का २२ वर्षीय सचिनकुमार यादव, गौशाला–६ फुलकाहाका २६ वर्षीय आदित्यनारायण यादव, पिपरा–२ का २७ वर्षीय विपिनकुमार मण्डल र बर्दिबास–१ का विकास भारती रहेका छन्।

सम्पर्कविहीन आफन्तको खोजीमा रहेका परिवारजनले सरकारसँग खोज तथा उद्धार कार्यलाई तीव्र पार्दै उनीहरूको अवस्थाबारे यथाशीघ्र जानकारी उपलब्ध गराउन माग गरेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर