धनुषा । सूचनाको हकका लागि राष्ट्रिय महासंघद्वारा जिल्ला बाहिर तथा विदेशमा रहेका नेपाली नागरिकले मतदानमा कसरी सहभागी हुने वा नहुने लगायत मताधिकारसँग सम्बन्धित विषयमा आयोजित महत्वपूर्ण कार्यक्रम धनुषाधामस्थित होटल वाटिका एण्ड पार्टी प्यालेसमा सम्पन्न भएको छ।
कार्यक्रममा धनुषाधाम नगरपालिकाका ९ वटै वडाबाट प्रतिनिधिमूलक सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन पत्रकार मुकेश कुमार ठाकुरले गर्नुभएको थियो।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष तथा कार्यक्रमका अध्यक्ष उमिद बागचन्द, त्रिभुवन विश्वविद्यालय पत्रकारिता विभागका पूर्वप्रमुख प्रा। चिरञ्जीवी खनाल, इन्टरनेशनल आइडियाका प्रतिनिधि सौरभ दाहाल, परामर्शदाता किरण पौडेल, अजय कुमार साह र माला राय लगायतको सहभागिता तथा प्रस्तुति रहेको थियो।
कार्यक्रममा जिल्ला बाहिर तथा विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार, मतदान प्रक्रियामा सहभागिताका सम्भावना तथा नागरिकको सूचनाको अधिकारका विषयमा छलफल तथा प्रस्तुति गरिएको थियो। वक्ताहरूले मताधिकारको प्रयोगका लागि नागरिक सचेतना र सही सूचनाको आवश्यकतामाथि जोड दिएका थिए।
कार्यक्रममा सहभागी वक्ता, अतिथि तथा ९ वटै वडाबाट उपस्थित सम्पूर्ण सहभागीहरूप्रति आयोजकले धन्यवाद तथा आभार व्यक्त गरेको छ।






