जनकपुरधाम, साउन १० –
मधेश प्रदेश सरकारले जनताको समस्याप्रति उदासीन रवैया देखाएको भन्दै समाजवादी युवा संघ नेपाल, धनुषा जिल्लाले भोलि साउन ११ गते प्रदेश सरकारविरुद्ध वृहत विरोध प्रदर्शन गर्ने भएको छ।
हाल किसान मल अभाव, सिँचाइ सुविधाको अभाव, सुख्खा क्षेत्र घोषणा भए पनि राहत नपुगेको अवस्था र बेरोजगारीको चपेटामा परेका युवाको पीडा लगायतका विषयमा सरकार गम्भीर नदेखिएको आरोप लगाउँदै संघले जनताको पक्षमा आवाज उठाउनुपर्ने आवश्यकता देखिएको जनाएको छ।
संघले विरोध कार्यक्रममा“जनताको सरकार कहाँ छरु”,“किसानको मल खोइरु”,“भोक र बेरोजगारीको विरोधमा युवा सडकमा”,“सुख्खा मधेश, सुक्खा नीति बन्द गर” लगायत नारा रहेका छन्।
समाजवादी युवा संघ नेपाल, धनुषा जिल्ला संयोजक मदन कुमार साहले जानकारी दिँदै भने, “सरकारको लापरबाहीले जनता र किसानको अवस्था दिन प्रतिदिन दयनीय बन्दै गएको छ। अब युवा मौन रहने छैनन्, जनताको हकहितमा सडकमा उत्रिने छौं।”
उनले जनता समाजवादी पार्टी नेपाल र समाजवादी युवा संघ नेपाल सधैं संघीयता, पहिचान र समृद्धिको पक्षमा प्रतिबद्ध रहेको जनाउँदै सबै युवालाई कार्यक्रममा सहभागिता जनाउन आह्वान समेत गरेका छन्।
भोलिको विरोध प्रदर्शन जनकपुरधामको प्रमुख स्थलहरूमा नाराबाजीसहित निकालिने जनाइएको छ।




