धनुषा, साउन १५ –
धनुषाधाम नगरपालिका–६ मालटोलदेखि मिथिला बिहारी नगरपालिकाको पुरन्दाहासम्मको महत्वपूर्ण सडक खण्डमा कालोपत्रे निर्माणका लागि आज भूमि पूजन कार्यक्रम सम्पन्न गरिएको छ।
भूमि पूजन कार्यक्रमको विधिवत सुरुआत मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले गर्नुभयो। कार्यक्रममा नेकपा ९एमाले० धनुषाका पूर्वजिल्ला अध्यक्ष राजकिशोर यादव, वडा नम्बर ६ का अध्यक्ष ऋषिकेश लामा, र युवा नेता धिरेन्द्र मण्डलको समेत सक्रिय उपस्थिति रह्यो।
कार्यक्रममा निर्माण कम्पनी नाइसा कन्स्ट्रक्सन, शहरी विकास कार्यालय, धनुषा, स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी, समाजसेवी, पत्रकार, प्रहरी र स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता देखिएको थियो।
यो सडक संघीय शहरी विकास मन्त्रालयअन्तर्गत शहरी विकास कार्यालयबाट निर्माण गरिनेछ। अनुगमन, निरीक्षण तथा सर्भे प्रक्रिया अन्तिम चरणमा पुगेको र अब छिट्टै कालोपत्रे कार्य थालिने जानकारी दिइएको छ।
स्थानीयवासीहरूका अनुसार मालटोलदेखि हरिपुर–पर्वता हुँदै भुतही–पुरन्दाहासम्मको यात्रा सहज, सुरक्षित र समयमै पुग्ने हुने विश्वास गरिएको छ। सडक निर्माणले क्षेत्रीय विकासमा गति ल्याउने रामदेव ठाकुरको भनाइ छ।




