रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

दलान नेपालको दोस्रो वार्षिक साधारण सभा सम्पन्न, महिला र सीमान्तकृत सशक्तीकरणमा जोड

[sharethis-inline-buttons]

जनकपुरधाम । महिला, बालबालिका, युवाहरू तथा सीमान्तकृत समुदायको सशक्तीकरणका लागि क्रियाशील दलान नेपालले आफ्नो दोस्रो वार्षिक साधारण सभा सम्पन्न गरेको छ।
कार्यक्रमको अध्यक्षता दलान नेपालकी अध्यक्ष रुपा कुमारी रायले गर्नुभयो। प्रमुख अतिथिका रूपमा मधेश प्रदेशको प्राकृतिक स्रोत तथा वातावरण समितीकी सभापति सारदा दास पहाडीको विशेष उपस्थिती रहेको थियो।

विशिष्ट अतिथिमा डिम्यानका केन्द्रीय उपाध्यक्ष तथा रतौली युवा क्लबका कार्यकारी निर्देशक बैद्यनाथ चौधरी, युएन वुमनका प्रतिनिधि रोशन झा, प्लान इन्टरनेशनलका प्रोजेक्ट म्यानेजर, युनिसेफ नेपालका नथुनी मोची, एकल महिला संघका जिल्ला संयोजक शुभद्रा आले, विभिन्न सञ्चारकर्मी तथा सरोकारवालाहरूको सहभागिता थियो।

कार्यक्रममा दलान नेपालका कार्यकारी निर्देशक धर्मानन्द ठाकुरले विगत वर्षका कार्यक्रमगत गतिविधि, उपलब्धी तथा आगामी वर्षको कार्ययोजना प्रस्तुत गरे। संस्थाकी सचिव बिनिता कुमारी कामतले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरिन्। सहभागीहरूले संस्थाको कामको प्रशंसा गर्दै शिक्षा, स्वास्थ्य, कृषि, विपद् जोखिम न्यूनीकरण तथा जीविकोपार्जन क्षेत्रमा अझ प्रभावकारी कार्य गर्न सुझावहरू प्रदान गरे।

युनिसेफका प्रतिनिधि नथुनी मोचीले थोरै समयमै धेरै सामाजिक कार्य सम्पन्न गरेकोमा दलान नेपालको प्रशंसा गर्दै सहयोगका लागि सधैं तत्पर रहने प्रतिबद्धता जनाए। युएन वुमनका रोशन झाले कुनै पनि संस्थाको बलियो जग टिमवर्कबाट बन्ने बताउँदै दलान नेपाल त्यसको उत्कृष्ट उदाहरण भएको उल्लेख गरे।

सभा अन्त्यमा अध्यक्ष रुपा कुमारी रायले सबै अतिथि, सहभागी, साझेदार संस्था, सरकारी निकाय तथा समुदायप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि सहकार्य र साझेदारीको अपेक्षा व्यक्त गरिन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर