धनुषा, साउन २१ — मिथिला नगरपालिकाको ढल्केवरमा निर्माण प्रस्तावित क्रिटिकल केयर तथा ट्रमा सेन्टरसहितको अस्पताल भवन अन्यत्र सारिने आशंका व्यक्त गर्दै संघर्ष समितिले सरकारको ध्यानाकर्षण गराएको छ।
संघर्ष समितिले प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेल मार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई ज्ञापनपत्र बुझाएको हो।
ज्ञापनपत्रमा नेपाल सरकारका विभिन्न आर्थिक वर्षका बजेट वक्तव्यमा ढल्केवरमा ट्रमा सेन्टर स्थापना गर्ने घोषणा गरिएको, आर्थिक वर्ष २०७९/०८० र २०८०/०८१ मा गरी ४० करोड रुपैयाँ बजेट विनियोजन भएको तथा माटो परीक्षण (Soil Test), टोपोग्राफिकल सर्वे लगायतका प्रारम्भिक कार्य सम्पन्न भइसकेको उल्लेख गरिएको छ। साथै, सम्बन्धित मन्त्रालयहरूबाट जग्गा उपयोगका लागि आवश्यक स्वीकृति र निर्णय प्राप्त भई भूमि प्रशासन कार्यालय ढल्केवरबाट उपयोग प्रमाणपत्रसमेत जारी भइसकेको जनाइएको छ।
तर, प्रतिनिधिसभाको साउन १९ गतेको बैठकमा स्वास्थ्य मन्त्रीले सिराहाको लाहानमा ट्रमा सेन्टर अस्पताल निर्माण गर्ने अभिव्यक्ति दिएपछि ढल्केवरको योजना प्रभावित हुने आशंका उत्पन्न भएको भन्दै संघर्ष समितिले ढल्केवरमै क्रिटिकल केयर तथा ट्रमा सेन्टरसहितको अस्पताल भवन निर्माण सुनिश्चित गर्न सरकारसँग माग गरेको छ।
ज्ञापनपत्र बुझाउने कार्यक्रममा संघर्ष समितिका संयोजक तथा मिथिला नगरपालिकाका मेयर महेन्द्र महतो, एमाले मधेश प्रदेशका प्रमुख सचेतक हरि नारायण महतो, जसपा नेपालका नेता चन्देश्वर महतो, विभिन्न वडाका अध्यक्ष, राजनीतिक दलका प्रतिनिधि, युवा, व्यापारी तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। संघर्ष समितिको साउन २१ गते बसेको बैठकको निर्णयअनुसार ज्ञापनपत्र पेश गरिएको जनाइएको छ।
ढल्केवरमै क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माण सुनिश्चित गर्न सरकारसमक्ष ज्ञापनपत्र
तपाईको प्रतिक्रिया
सम्बन्धित खबर






