रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

मलखाद, ग्यास आपूर्ति र बढ्दो महँगी नियन्त्रण गर्न नेपाली कम्युनिष्ट पार्टी धनुषाको माग

जनकपुरधाम । नेपाली कम्युनिष्ट पार्टी जिल्ला कमिटी धनुषाले किसान तथा आम नागरिकका दैनिक समस्यालाई तत्काल सम्बोधन गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय धनुषामार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको छ।

जिल्ला संयोजक दीपक यादव, इन्चार्ज शत्रुधन महतोको हस्ताक्षरित ज्ञापनपत्रमा खेतीपातीको समयमा किसानले पर्याप्त मलखाद र गुणस्तरीय बीउविजन नपाएको भन्दै तत्काल सहज आपूर्तिको व्यवस्था गर्न माग गरिएको छ।

पार्टीले मलखाद तथा बीउविजनमा हुने कालोबजारी, कृत्रिम अभाव र अनियमित मूल्यवृद्धि नियन्त्रण गर्न, किसानलाई समयमै उचित मूल्यमा गुणस्तरीय बीउविजन उपलब्ध गराउन तथा आउँदो चाडपर्वलाई मध्यनजर गर्दै एलपी ग्यासको नियमित र सहज आपूर्ति सुनिश्चित गर्न माग गरेको छ।

त्यस्तै, ग्यास, खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव र कालोबजारी नियन्त्रण गरी उचित मूल्य कायम गर्नुपर्ने माग ज्ञापनपत्रमा उल्लेख छ।

पार्टीले जिल्लामा शान्ति सुरक्षाको अवस्था प्रभावकारी बनाउन तथा दिनहुँ भइरहेका अमानवीय घटना र बलात्कारजस्ता घटनाको नियन्त्रणका लागि आवश्यक पहल गर्नसमेत माग गरेको छ। दोषीमाथि आवश्यक छानविन गरी कडा कारबाही गर्नुपर्ने उसको माग छ।

यी समस्याको तत्काल समाधानका लागि जिल्ला प्रशासन कार्यालयमार्फत सम्बन्धित सरकारी निकायबीच आवश्यक समन्वय गरी प्रभावकारी कदम चाल्न पार्टीले आग्रह गरेको छ।

ज्ञापनपत्रको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई समेत पठाइएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर