काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै सरकार उद्धार, खोज तथा राहत कार्यलाई तीव्र बनाउन पूर्ण रूपमा परिचालित भएको बताएका छन्।
प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत हालसम्म ५० भन्दा बढी नागरिकको मृत्यु भएको दुःखद खबर प्राप्त भएको उल्लेख गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका छन्। उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन्।
उनका अनुसार बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका टोली परिचालन गरिएको छ। नेपाली सेनाको हेलिकप्टरमार्फत हालसम्म २५० भन्दा बढी नागरिकको उद्धार गरिएको र घाइतेहरूलाई काठमाडौं ल्याएर उपचार सुरु गरिएको प्रधानमन्त्री शाहले बताएका छन्।
घाइतेहरूको सहज र निःशुल्क उपचारका लागि वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा १०० शय्या छुट्याइएको तथा उपत्यकाका अन्य ठूला अस्पताललाई समेत तयारी अवस्थामा राखिएको उनले जानकारी दिएका छन्। प्रभावित क्षेत्रमा मेडिकल तथा स्वास्थ्यकर्मीको टोली, औषधि र आवश्यक स्वास्थ्य सामग्री पठाइएको उनले बताएका छन्।
प्रधानमन्त्री शाहले बेपत्ता नागरिकको खोजी, घाइतेको उपचार र प्रभावित नागरिकको सुरक्षा सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन्। उनले आज रातभर पनि उद्धार तथा खोजी कार्य जारी रहने जानकारी दिएका छन्।
नुवाकोटको विदुर, रसुवाको उत्तरगया र गोसाइँकुण्ड, धादिङका गजुरी, गल्छी, बेनीघाट, त्रिपुरासुन्दरी र सिद्धलेख तथा गोरखाका शहीद लखन र गण्डकी गाउँपालिका बाढीबाट बढी प्रभावित भएको उल्लेख गर्दै ती क्षेत्रमा खाद्यान्न, खानेपानी, औषधि र अस्थायी बसोबासको व्यवस्था तत्काल पुर्याइने उनले बताएका छन्।
बाढीबाट क्षतिग्रस्त सडक, पुल, विद्युत् तथा खानेपानीका संरचनालाई प्राथमिकताका साथ पुनर्निर्माण गर्ने र विस्थापित परिवारलाई सुरक्षित स्थानमा पुनःस्थापना गरिने प्रधानमन्त्री शाहको भनाइ छ।
उनले विपद्को कठिन घडीमा प्रभावित नागरिकहरू एक्लो नभएको बताउँदै राज्य सम्पूर्ण स्रोत–साधनसहित उनीहरूको साथमा रहेको विश्वास दिलाएका छन्। साथै सामाजिक संघसंस्था, उद्योगी–व्यवसायी, युवा स्वयंसेवक तथा आम नागरिकलाई सरकारी राहत तथा उद्धार अभियानमा सहयोग गर्न अपिल गरेका छन्।
रसुवा बाढीमा उद्धार, उपचार र पुनःस्थापनामा सरकार केन्द्रित हुने : प्रधानमन्त्री शाह
तपाईको प्रतिक्रिया
सम्बन्धित खबर






