१८ भदौ, काठमाडौं । रसुवागढी नाकाबाट १० भदौमा नेपाल प्रवेश गरेको भोटेकोशी नदीको विनाशकारी बाढीले रसुवादेखि तल्लो तटीय क्षेत्रसम्मका सडक तथा पुलमा ठूलो क्षति पुर्याएको छ। बाढीका कारण कम्तीमा ४१ वटा मोटरेबल पुलमा क्षति पुगेको छ भने ३५ वटा पुल पूर्ण रूपमा बगेका छन्।
बाढीले रसुवा बेत्रावतीदेखि मैलुङ हुँदै स्याफ्रुबेसी–रसुवागढी जोड्ने सडकखण्डमा समेत व्यापक क्षति पुर्याएको छ। रसुवामा मात्रै करिब ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएपछि जिल्ला सडक सञ्जालबाट लगभग विच्छेद भएको छ।
वैकल्पिक मार्ग सञ्चालनमा आए पनि त्यसले सहज रूपमा यातायात धान्न सकेको छैन। त्रिशूली नदीपारिको नुवाकोट क्षेत्रसमेत प्रत्यक्ष सडक सम्पर्कबाट प्रभावित भएको छ।
८५ किलोमिटर लामो गल्छी–रसुवागढी सडकखण्डमा मात्रै तीन दर्जनभन्दा बढी पुल निर्माण भएका थिए। पूर्वसचिव केशव शर्माका अनुसार बाढीले बस्तीपिच्छे पुल बनाउनेभन्दा रणनीतिक र बलिया पुल निर्माण गर्नुपर्ने आवश्यकता देखाएको छ।
उनले पूर्वाधार विकासलाई स्थानीय तह वा जिल्लाको राजनीतिक सीमाभन्दा माथि उठाएर नदी बेसिनको समग्र भूगोललाई आधार मानेर योजना बनाउनुपर्ने बताए। उनका अनुसार निश्चित दूरीमा मात्र पुल निर्माण गरी त्यसलाई उच्च बहाव थेग्न सक्ने र जलवायु परिवर्तन अनुकूल डिजाइनमा विकास गर्न आवश्यक छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका पूर्वकार्यकारी प्रमुख अनिल पोखरेलले पनि हाल प्रचलित पुल निर्माण मापदण्डमा पुनर्विचार गर्नुपर्ने आवश्यकता बाढीले स्पष्ट पारेको बताए।
उनका अनुसार हिमाली क्षेत्रमा आउने बाढीमा पानीसँगै ठूलो मात्रामा गेग्रान, ढुंगा तथा अन्य वस्तु बग्ने भएकाले सामान्य संरचनाले त्यस्तो बहाव थेग्न कठिन हुन्छ। त्यसैले अब पुल डिजाइन गर्दा पानीको बहावसँगै गेग्रानको प्रभावलाई समेत ध्यान दिनुपर्ने उनको भनाइ छ।
रसुवागढीस्थित मितेरी पुलदेखि मुग्लिनसम्मका संरचना हेर्दा मुग्लिनको आर्क ब्रिज तुलनात्मक रूपमा सुरक्षित देखिएको छ। नयाँ भएकाले मात्र नभई बाढीले बगाएर ल्याउने वस्तुको प्रभावसमेत कम हुने गरी डिजाइन गरिएकाले उक्त पुल सुरक्षित रहेको विज्ञहरूको भनाइ छ।
मापदण्डमै नसमेटिएको स्तरको बाढी
सडक विभागका अनुसार भोटेकोशीमा आएको बाढीको स्तर विद्यमान पुल निर्माण मापदण्डले परिकल्पना गरेको सीमाभन्दा निकै ठूलो थियो।
सडक विभागका महानिर्देशक डा. विजय जैसीले सामान्य अवस्थामा निर्धारित मापदण्डअनुसार पुल निर्माण गरिने भए पनि यसपटकको बाढी असाधारण रहेको बताए। उनले कुन अवधिपछि यस्तो बाढी आएको हो भन्ने विषयमा थप अध्ययन आवश्यक रहेको उल्लेख गर्दै बचेका पुलहरू कसरी सुरक्षित रहे भन्नेबारे समेत अध्ययन गर्नुपर्ने बताए।
रणनीतिक पुल निर्माणमा जोड
बाढीपछि अब राजमार्ग तथा जिल्ला सदरमुकाम जोड्ने महत्वपूर्ण सडकमा रणनीतिक पुल निर्माण गर्नुपर्ने आवश्यकता देखिएको महानिर्देशक जैसीको भनाइ छ। उनका अनुसार यस्ता पुललाई सामान्य पुलभन्दा अग्लो, लामो र बढी क्षमतायुक्त बनाउने गरी छुट्टै मापदण्ड आवश्यक छ।
भविष्यमा यस्तै विपद् अन्य नदीमा समेत आउन सक्ने भएकाले जोखिमका आधारमा पुलको वर्गीकरण गरी रणनीतिक पुलमा राज्यले पर्याप्त लगानी गर्नुपर्ने उनले बताए।
तत्काल सडक सञ्चालनमा ल्याउन सरकारले तीन स्थानमा बेलिब्रिज निर्माणको तयारी गरेको छ। देवीघाटस्थित त्रिशूली नदीमा तादी खोला पुल बगेको स्थान, त्रिशूली बजारमा पुरानो पुल रहेको स्थान तथा नुवाकोट–रसुवा जोड्ने बेत्रावतीमा बेलिब्रिज राख्ने तयारी गरिएको सडक विभागले जनाएको छ।
यी बेलिब्रिज सञ्चालनमा आएपछि मुख्य राजमार्गको आवागमन सहज हुने र त्यसपछि बाँकी पुलको प्राविधिक अध्ययन गरी स्थायी संरचना निर्माण गर्ने विभागको योजना छ।
बहुआयामिक अध्ययन आवश्यक
पूर्वसचिव शर्माले नदी आसपास र भिरालो भूभागमा पूर्वाधार निर्माण गर्दा केवल स्ट्रक्चरल इन्जिनियरिङको आधारमा निर्णय गर्न नहुने बताएका छन्।
उनका अनुसार भौगोलिक तथा भूप्राविधिक अवस्था, जलविज्ञान, नदीको आकृति, हिमनदी तथा गेग्रान बहावलगायत विषयको संयुक्त अध्ययनपछि मात्र पुल, सडक तथा बाँध निर्माणको योजना बनाउनुपर्छ।
नेपालमा नदी किनारका सडक, पुल तथा बाँध सामान्यतया विगतको बाढीको तथ्यांकका आधारमा डिजाइन हुँदै आएका छन्। तर जलवायु परिवर्तनका कारण अत्यधिक वर्षा, क्लाउड ब्रस्ट, गेग्रान बहाव र नदीमा अवसादको मात्रा परिवर्तन भइरहेकाले पुराना मापदण्डलाई समयअनुकूल परिमार्जन गर्नुपर्ने विज्ञहरूको सुझाव छ।
विशेषगरी उच्च बाढी सतह, त्यसपछि आवश्यक अतिरिक्त उचाइ र बाढीबाट संरचनामा पर्न सक्ने असरको मूल्यांकन गर्ने मापदण्डलाई पुनः समीक्षा गर्नुपर्ने आवश्यकता देखिएको छ।
भोटेकोशी बाढीले नेपालमा पूर्वाधार निर्माण गर्दा ‘धेरै पुलभन्दा रणनीतिक र बलिया पुल’ तथा ‘स्थानीय सीमाभन्दा नदी बेसिनलाई आधार’ मान्ने नीति आवश्यक रहेको स्पष्ट संकेत दिएको विज्ञहरूको निष्कर्ष छ।






